काठमाडौं, ७ फागुन। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आईतबार दिनभर जस्तो ‘वान टू वान’ बार्तामा केन्द्रित रहे । एमाले–माओवादीबीच हुने भनिएको पार्टी एकताबारे बजारमा नकारात्मक समाचार आइरहेका बेला अध्यक्ष द्वय ओली र प्रचण्डले एकताको खाका तयार पारेका छन् ।
एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड आलोपालो पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने जसमा प्रधानमन्त्री हुने नेता पार्टीको सेरमोनियल अध्यक्ष र अर्को नेता अधिकारसम्पन्न अध्यक्ष हुने सहमति समेत गरेका छन् । एकीकृत पार्टीमा ओली र माओवादी अध्यक्ष प्रचण्ड को समान हैसियतमा रहने र अध्यक्षबाहेक बहुपद सृजना नगर्ने सहमति भएको माओवादी नेताले बताए ।
ओली र प्रचण्डबीच भएको सहमति अनुसार राष्ट्रपति र उपसभामुख एमालेलाई तथा उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रले पाउने छ । एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्न दुबे नेताहरु सहमत भएका छन् । खबर डवलीमा खबर छ- तत्काल एकसय भन्दा कमको केन्द्रीय समिति बनाउने र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न कार्यदल गठन गर्ने प्रचण्ड–ओलीले समझदारी गरेका बताइएको छ।