Indrenionline.com

बलात्कारपछि १३ वर्षीया बालिकाको हत्या…..

इन्द्रेणी संवाददाता
सप्तरी, ५ फागुन । सप्तरीमा एक बालिकाको बलात्कारपछि हत्या गरिएको छ । त्यहाँस्थित खड्क नगरपालिका–९ लालपट्टीकी १३ वर्षीया बालिका पार्वतीकुमारी मण्डलको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हत्यामा बालिकाको ठूलोबुबाका छोरा १८ वर्षीय राजदेव मण्डल संलग्न रहेका छन् । मण्डललाई शुक्रबार मात्रै प्रहरीले सार्वजनिक गरेको छ ।

शीतलहरका कारण टाउको दुखेपछि घरैमा सुतिरहेकी बालिकालाई राजदेवले २५ माघमा बलात्कार गरेका थिए । बालिकाकी आमा औषधि किन्न बजार गएको मौका छोपेर उनले बलात्कार गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

ब्ल्याङ्केट ओढेर सुतिरहेकी बालिकालाई राजदेवले मुख थिचेर बलात्कार गरेको र बालिका चिच्याएर गुहार माग्न थालेपछि छातीमा घुँडाले थिच्दै सुरुवालको तुनाले घाँटी बेरेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

परिवारकै सदस्यहरूले सुरुमा घटना लुकाउने प्रयास गरेका थिए । ‘बालिकाको मृत्यु भयो भनेर तत्कालै अन्त्येष्टि गर्न खोज्दा मावली पक्षका एकजनाले शरीर तातै छ, उपचार गराउन लग्नुपर्छ भनेर नजिकैको बजार कल्याणपुरको मेडिकलमा लगेका रहेछन्,’ एसपी मुकेशकुमार सिंहले भने, ‘तर, मेडिकल सञ्चालकले उपचार सम्भव नभएको भन्दै थप उपचारका लागि लहान लैजान सिफारिस गर्नुका साथै प्रहरीलाई पनि खबर गरेछन् ।’

बालिकालाई राति ११ बजे नै प्रहरीले अस्पताल लगे पनि उनको ज्यान जोगाउन भने सकेन । बाटोमै उनको मृत्यु भएको थियो ।
गएको विहीबार मात्रै छिन्नमस्ता गाउँपालिकाकी दुई वर्षीया नाबालिका बलात्कृत भएको समेत प्रहरीले जनाएको छ ।