Indrenionline.com

गुरु नै विद्यार्थीको काल बनेर आएपछि…………

हुम्ला, ४ फागुन । जिल्लाको नाम्खा गाउँपालिकास्थित महाबौद्ध माध्यमिक विद्यालयमा अध्ययनरत १७ वर्षीय छात्रा सिचुडोमा लामाको हत्या अभियोगमा सोही विद्यालयका प्रधानाध्यापक धनलाल रोकायालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान हुम्ला जाने क्रममा हत्या आरोपी रोकाया सुर्खेत विमानस्थलबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, हुम्लाले आरोपी रोकायालाई पक्राउन गन देशभरि नै अनुरोध गरेकाले विशेष सुराकीको आधारमा सुर्खेत विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सञ्चार प्रमुख अमर रावतले बताए । पक्राउ परेका प्रअ रोकायालाई हुम्ला पठाउने तयारी भइरहेको उनले जानकारी दिएका छन् ।

नाम्खा गाउँपालिका–४ स्थित कैलाश मानसरोवर चिन्ड्रेन अफ हुम्ला नामक होस्टेलमा बसेर महाबौद्ध माविमा विद्यालय शिक्षा परीक्षा ९एसईई० को परीक्षाको तयारीस्वरूप कक्षा लिँदै आएकी लामालाई प्रधानाध्यापक रोकायाले जबर्जस्ती गर्भ बोकाएको आरोप परिवारले लगाएको छ । गर्भ तुहाउन अस्पताल पु¥याइएको बेला छोरीको मृत्यु भएको आरोप लगाउँदै मृतक लामाको बुबा लोण्डोमिगुर लामाले किटानीसाथ मुद्दा दर्ता गराएका थिए ।

होस्टलमा प्रअ रोकायासँगै उनकी छोरी एलिसा, मृतक सिचुडोमा र रमिता लामा बस्दै आएका थिए । मृतक छात्रालाई प्रधानाध्यापक रोकायाले जबर्जस्ती गर्न खोज्दा गत २३ पुसको राति एक बजे होस्टेलबाट भागेर भीर र जंगलको बाटो काटेर घर आएको उनका बुबा लामाले सुनाए ।

बुबा लामाले मृतक छोरीलाई घरमै बसेर पढ्न भने पनि छोरी विद्यालय नफर्किएमा प्रअ रोकाया घरमै लिन आउने गरेको बताए । ‘एसईईमा प्रयोगात्मक विषयमा कम नम्बर दिएर फेल गराउने धम्कीसमेत दिएको गुनासो मृतक लामाले आमालाई बताएकी रहिछन्,’ उनले भने । एसईई परीक्षा सकिएपछि प्रअ रोकायाबाट छुटकारा पाउने भएकाले केही दिन बचेर बस्न भन्दै आमा सोनाम छाइडेल लामाले छोरीलाई विद्यालय पठाएको उजुरीमा उल्लेख छ । राजधानीमा खबर छ- उनी विद्यालय गएको साता दिन नपुग्दै ७ माघ २०७४ सिचुडोमा लामाको अचानक मृत्यु भएको थियो ।

सिचुडोमा अचेत भएपछि प्रअ रोकायाले कसैलाई जानकारी नगरी मणिपाल अस्पताल पोखरामा पु¥याएको जाहेरी पत्रमा उल्लेख छ । मृतक छात्राले मृत्युअघि एउटा प्रेमपत्र लेख्दै प्रअ रोकायाको धम्की सहन नसकेको र प्रअलाई ‘राक्षस’ भनेर आफ्नो प्रेमीलाई पत्र लेखेर छाडेकी छन् ।