Indrenionline.com

आज प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै

Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहीबार देशवासीलाई सम्बोधन गर्दै छन् । सम्बोधन गर्दै देउवाली प्रधानमन्त्री पदबाट राजीनामा दिने अपेक्षा गरिएको छ । सम्बोधनपछि राजीनामा पत्र बुझाउन राष्ट्रपति कार्यालय जानेछन्।

प्रधानमन्त्री देउवाले बुधबार दिने भनिएको राजीनामा अन्तिम समयमा आएर रोकिएको थियो। राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन नगरेको कारण देखाउँदै देउवाले राजीनामा रोकेका हुन्।

सरकारको सिफारिस राष्ट्रपतिले कार्यान्वयन नगर्दासम्म राजीनामा दिन नहुने तर्क देउवा निकटले गरेपछि उनले राजीनामाको मनस्थिति परित्याग गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

देशवासीलाई सम्बोधन गरी बुधबार राजीनामा दिने तयारी गरेका देउवाले साँझ मन्त्रिपरिषद्का सदस्यसँग आफ्नो राजीनामाको विषयमा अनौपचारिक छलफल पनि गरेका थिए। छलफलमा राष्ट्रपतिसँग सरकारको सिफारिसका विषयमा कुरा गरेर मात्रै राजीनामा दिन सुझाव आएपछि देउवा राजीनामाबाट पछि हटेका हुन्।

प्रधानमन्त्री सचिवालयदेखि केही कांग्रेसी नेताले बुधबार देउवाको बिदाइ सम्बोधन तयार पारेका थिए। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले सम्बोधन र राजीनामा सबै तयार पारेर बसे पनि सरकारको सिफारिस राष्ट्रपतिबाट कार्यान्वयनमा ढिलाइ हुँदा रोकिएको जानकारी दिए।