इन्द्रेणी संवाददाता
बुटवल, २८ माघ । प्रदेश नं ५ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष आज दाबी पेश गरेका छन् ।
एमाले संसदीय दलका नेता पोखरेल र माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले बहुमत प्रदेश सदस्यको सहमतिसहितको संयुक्त हस्ताक्षर बुझाएका हुन् ।
सो प्रदेशमा कूल ८७ प्रदेश सदस्यमध्ये एमालेका ४१ र माओवादी केन्द्रका २० जना छन् । एमाले माओवादी गठबन्धनको सहमतिअनुसार यस प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्ने सहमतिअनुसार एमाले प्रदेश संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीका लागि अगाडि सारिएको हो ।
दुवै दलका संसदीय दलको संयुक्त पत्र बुझेपछि प्रदेश प्रमुख उमाकान्त झाले मुलुकमा राजनीतिक परिवर्तनपछि प्रदेश संरचना पहिलो अभ्यास भएकाले केही विलम्ब भए पनि संविधानले दिएको समयभित्रै सरकार निर्माण गर्ने विषयमा सचेत भएको बताए ।
प्रदेश प्रमुखसमक्ष पत्र बुझाएलगत्तै मुख्यमन्त्रीका लागि अगाडि सारिएका एमाले संसदीय दलका नेता पोखरेलले प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेपछि आगामी फागुन ३ गते शपथ ग्रहण कार्यक्रम हुने र त्यससँगै छोटो मन्त्रिमण्डल गठन गरिने बताए ।