इन्द्रेणी संवाददाता
काठमाडौं २७ माघ । नयाँ संबिधान कार्यन्वयन भएपछी भएको पहिलो प्रदेशसभा चुनावपछि देशले सात मुख्यमन्त्री पाउँदैछ । शुक्रवारसम्म ७ मध्ये ६ प्रदेशमा को मुख्यमन्त्री हुने भन्ने तय भएको छ भने एउटा प्रदेशमा आइतवार यसको टुंगो लाग्नेछ । प्रदेश नं ४ बाहेकका प्रदेशमा मुख्यमन्त्रीका लागि चलेको दौड शुक्रबारबाट सकिएको छ । बामगठबन्धनको सहमति अनुसार एमालेले चार र माओवादीले २ वटा प्रदेशमा मुख्यमन्त्री पाएका छन् ।
प्रदेश नम्वर २ मा चाहिँ राष्ट्रिय जनता पार्टीको समर्थनमा संघीय समाजवादी फोरम, नेपालले मुख्यमन्त्री पाउँदैछ । शुक्रवारसम्म एमालेका ३, माओवादीका दुई र मधेशवादी दलका एक नेता मुख्यमन्त्रीका लागि दलको नेता चयन भैसकेका छन् ।
यसरी चयन भएका मुख्यमन्त्रीका प्रस्तावित नेतामा प्रदेश १ मा एमालेका शेरधन राई , प्रदेश २ मा फोरमका लालबाबु राउत ,प्रदेश ३ मा एमालेका डोरमणि पौडेल , ५ मा एमालेका शंकर पोखरेल , प्रदेश ६ मा माओवादीका महेन्द्रबहादुर शाही, ७ नम्बरमा माओवादीले मुख्यमन्त्रीका लागि त्रिलोचन भटट् रहेका छन् ।
अन्य प्रदेशमा मुख्यमन्त्री को बन्ने भन्ने निश्चित भएपनि ४ नम्वर प्रदेशमा भने आइतवारमात्रै टुंगो लाग्नेछ । प्रदेश–४ मा एमालेले संसदीय दलको नेताका लागि आइतबार छान्दैछ ।