Indrenionline.com

घर आगोले खरानी भएपछि…………….

फिदिम, २४ माघ । उदास अनि मलिन अनुहार मुजामुजा परेको छ। लगाएका कपडामा मैलोको खाटा बसेको छ। कचेराले आँखा टालिन लागेको देखिन्छ। कार्यालय समय सकिन लागेको छ। एक जोडी वृद्ध दम्पत्ती जिल्ला प्रशासन कार्यालय पाँचथरको परिसरमा लठ्ठीको साहरामा बसेको दृश्य कारुणिक लाग्छ।

वृद्धवृद्धा राम्ररी आफ्नो नामसम्म भन्न सक्दैन। अनकनाउँदै वृद्धले आफ्नो नाम भने, ‘टिकाराम तामाङ’। सँगै बसेकी बुढी हो। उनले श्रीमती चिनाए। उनको नाम फूलमाया तामाङ रहेछ। टिकाराम ८७ बर्ष पुगे। श्रीमतीको उमेर भने थाहा छैन। शारीरिक अवस्था र अनुहार हेर्दा उमेर उस्तैउस्तै लाग्छ।

हिलिहाङ गाउँपालिका अमरपुर निवासी वृद्ध दम्पती घरमा आगो लागेपछि राहत खोज्दै जिल्ला प्रशासनमा आइपुगेका हुन्। तामाङ दम्पत्ती बस्दै आएको झुप्रोमा गत हप्ता आगो लागेको थियो। आगोले घर खरानी बनाएपछि अन्य कोही नभएका दम्पत्ती छिमेकीको सहयोगमा जिल्ला प्रशासनसम्म आइपुगेका हुन्।

‘दुई छोरा जन्मिएका थिए, सानैमा मरे,’ टीकाराम भन्छन्, ‘एउटा पाँच बर्षको भएर मर्‍यो, अर्को जन्मदै मरेर जन्मियो।’ फूलमायाको कोखबाट एकजना छोरी जन्मिएकी थिइन्। २००७ सालमै छोरीले विवाह गरेको उनी बताउँछन्। तर, छोरी विवाह गर्ने ज्वाईं को हो रु र कस्तो थियो रु आजसम्म थाहा छैन। ‘विवाह गरेपछि छोरी माइतीघर आएकी छैन,’ टीकाराम भन्छन्, ‘भारततिरको केटोसँग विवाह गरेको भन्ने सुनेको हो।’ यतिका बर्षसम्म छोरी जन्मघर नफर्किएपछि आमा फूलमायाले छोरीको माया मारेकी छिन्। ‘छोरीको जात कस्ले कहाँ पुर्‍यायो, के गर्यो थाहा छैन,’ फूलमायाको बोलिमा मातृत्व पोखियो।

‘बारीमा गएका बेला घरमा आगो सल्किएछ,’ फूलमाया भन्छिन्, ‘एक्कैचोटी आगो धुरीमा दन्कदा मात्र देखियो।’ आगलागीले सामानसँगै घर खरानी बनायो। ‘शरीरमा लगाएको कपडा भन्दा अरु केही बाँकी रहेन, दुई चार कुखुरा बाँचेका थिए,’ फुलमायाले भनिन्, ‘यहाँ आउँदा खोरबाट कुखुरा छाड्न बिर्सिएछ ती पनि भोकले मरे होला १’ आगलागीले घर खरानी भएका वृद्ध दम्पत्तीले १० हजार राहत पाउने सहायक प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए। अन्नपूर्ण पोष्टबाट