काठमाडौं, ९ माघ । सन् २०११ देखि हालसम्मको सात वर्षमा सडक दुुर्घटनाबाट मृत्यु हुनेको संख्या झन्डै डेढ गुणाले वृद्धि भएको छ । सरकारले १० वर्ष २०११ /२०२० सम्ममा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या आधाले घटाउने लक्ष्य लिएको थियो । तर, त्यसको विपरीत मृत्युदर बढ्दै गएको छ ।
०६६-६७ (२००९-०१०) मा कुल एक हजार सात सय ३४ जनाको मृत्यु भएको थियो । यसलाई २०२० मा आधा अर्थात् आठ सय ६७ जनामा सीमित गर्नुपर्ने सरकारी लक्ष्य छ । जब कि बितेका आर्थिक वर्ष ०७३-७४ (०१६-१७) मा मात्रै मृत्यु हुनेको संख्या दुई हजार तीन सय ८४ छ ।
सडक सुरक्षासम्बन्धी १७ बुँदे घोषणापत्र पारित
राजधानीमा सोमबार सम्पन्न सडक सुरक्षासम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलनले १७ बुँदे घोषणापत्र पारित गरेको छ । उक्त सम्मेलनले सडक सुरक्षा काउन्सिलको गठन र प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । त्यस्तै, सबै निकायहरुबीच समन्वय गरेर सडक सुरक्षाको क्षेत्रका काम गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।
सम्मेलनमा सहभागीले सडक सुरक्षा सबैभन्दा ध्यान नदिएको विषय बन्दै गएकोे बताए । हरेक वर्ष वृद्धि हुदै गएको सडक दुर्घटना र मानविय क्षति न्यूनीकरणको लागि सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा सरोकारवालाहरुले जोड दिए । सम्मेलनमा सडक सुरक्षासँग सम्बन्धित पाँच क्षेत्रबारे विज्ञद्धारा प्रस्तुति भए । तिनीहरुमा सडक सुरक्षा व्यवस्थापन, सुरक्षित सडक र आवतजावत, सुरक्षित सवारीसाधन, सुरक्षित सडक प्रयोगकर्ता र दुर्घटनापछिको तयारी रहेका छन ।
सम्मेलनले नेपालमा अहिले सडक सुरक्षाको लागि भइरहेका क्रियाकलाप, सडक सुरक्षाका चुनौति र अवसर, सडक सुरक्षाबारे अन्तराष्ट्रिय अभ्यास र नेपालले सिक्ने पाठ लगायतका विषयमा महत्वपूर्ण उपलब्धी भएको आयोजक संस्थामध्येको एक नेपाल इञ्जिनियरिङ एसोसिएशनका अध्यक्ष हरेराम श्रेष्ठले बताए । नयाँ पत्रिकाबाट
