Indrenionline.com

नेपालमा प्रत्येक दिन १२० नयाँ क्षयरोगी थपिन्छन्

काठमाडौं, ६ माघ । नेपालमा प्रत्यक दिन करीव एक सय २० नयाँ क्षयरोगी थपिने गरेको एक तथ्याङले देखाएको छ । साथै वर्षेनी करिब ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्यांक राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ ।

क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरकोटमा आयोजित दुई दिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगी मध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्कविहीन रहेको केन्द्रका निर्देशक डा केदार नरसिंह केसीले बताए ।

प्रत्येक दिन १२० जनाको संख्यामा नयाँ क्षयरोगी देखापर्ने गरेका छन् भने क्षयरोगकै कारण नेपालमा वर्षेनी पाँचदेखि सात हजार बिरामीको मृत्यु हुने गरेको छ । नेपालको जनसंख्याको ४५ प्रतिशत मानिसमा क्षयरोग संक्रमणको जोखिम रहेको केन्द्रको भनाइ छ ।

नेपालमा जटिल प्रकारको बहुऔषधि प्रतिरोधी क्षयरोगीको संख्या एक हजार १०० रहेको केन्द्रको अनुमान छ । जसमध्ये ३५२ जना मात्र सम्पर्कमा आएका छन् । छसयभन्दा धेरै सम्पर्कमै आएका छैनन् ।