जुम्ला, ६ माघ । समयमा हिमपात नहुँदा कर्णालीवासीको गरा तथा खेतमै हिउँदेबाली सुक्न थालेपछि चिन्तित भएका छन् । माघ पहिलो साता हुनुपर्ने हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका हुन् ।
“यो वर्षको खडेरीबाट फेरि पनि दुःखका दिन शुरु हुने भए । भोकमरीको समस्या बढ्ने भयो,” चिन्ता व्यक्त गर्दै कामीले भने। खेतीमा निर्भर हामी जस्ता किसानलाई आकाशले अन्याय गरेको उनको दुखेसो थियो । यसले गर्दा आम्दानीको स्रोत नभएका तर तीनदेखि छ महिनासम्म मात्र खान पुग्ने यहाँका ग्रामीणवासीलाई झनै ठूलो समस्या हुने देखिएको छ ।
तिला–३ जुम्ला जोगीवाडा गाउँका स्थानीय किसान नरबहादुर रावतले आकाशे पानीमा निर्भर हुनुले हिमाली क्षेत्रका नागरिकले वर्ष बिराएर भोकमारीको समस्या भोग्नुपरेको दुखेसो पोखे ।
जाडोमा पानी पर्नुको साटो कालो तुषारोले ढाकिरहेको छ । यसले प्रकाश संश्लेषण प्रक्रियामा असर पु¥याउँदा स्याउ उत्पादनमा क्षति पुग्ने हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख एपी चौरासियाले बताए ।
यहाँको तीन हजार ८०० हेक्टर क्षेत्रफलमा जौँ, दुई हजार १०० हेक्टरमा गहुँ र तीन हजार ३०० हेक्टर जमिनमा स्याउबाली लगाइएको छ । सिञ्चित क्षेत्रको बाली उत्पादनमा आशा भए पनि पाखे जौँ र गहुँबाली नष्ट भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।