काठमाडौं, ६ माघ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच तीन लामो बार्ता सकिएको छ । दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म बालकोटमा भएको बैठकमा कार्यदलको रिपोर्ट, प्रदेश सरकारको गठन र राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल भएको बताइएको छ । छलफल असाध्यै सकारात्मक र सबै विषयमा खुलेर कुराकानी भएको पनि नेताहरुले दावी गरेका छन् ।
भोलि दुई पार्टीमा आन्तरिक छलफल गरी पर्सि एकता संयोजन समितिको बैठक बसेर सरकार गठन भन्दा अगाडि नै पार्टी एकता गर्ने सहमति दुई नेताहरु बीच भएको बताइउको छ । दुई नेताबीच खासगरी पाँचवटा विषयमा आज गहन छलफल भएको र त्यो निकै सकारात्मक भएको बताइएको छ ।
देउवा नेतृत्वका सरकारले बुधबार गरेको प्रदेश प्रमुखको नियुक्तीका विषयमा दुई पार्टीले साझा धारण बनाएर सार्वजनिक गर्ने सहमति भएको बताइएको छ । बैठकमा पार्टी एकताका लागि संगठनात्मक संरचना कस्तो बनाउने भन्ने बारेमा पनि ओली र प्रचण्डबीच बृहत छलफल भएको बताइएको छ । साथै सरकार गठन विधि, प्रक्रिया, मन्त्री फाँडफाँड लगायतका विषयमा पनि गभ्भीर छलफल भएको बताइएको छ ।
त्यसैगरी, एमाले, माओवादी केन्द्रलगायतका वामपन्थी शक्तिबीच पार्टी एकतापछि बन्ने नयाँ पार्टीको वैचारिक र संगठनात्मक दाँचा, नीति सिद्धान्त र कार्यनीतिका बारेमा पनि गहन छलफल भएको छ ।
गत पुस २५ गतेको एकता संयोजन समितिले प्रदेशसभा गठन, राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठन लगायतका जिम्मेवारीसहित गठन गठित संयुक्त कार्यदलले ७० र ३० आधारमा राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउन प्रस्तावका बारेमा पनि दुई अध्यक्षबीच छलफल भएको बताइएको छ । एभरेष्ट दैनिकबाट