Indrenionline.com

राष्ट्रिय सभा निर्वाचन: यी हुन् माओवादीभित्रका आकांक्षीहरु

काठमाडौं, ४ माघ । राष्ट्रिय सभा सदस्यका लागि नेकपा माओवादी केन्द्रभित्र पूर्वमन्त्रीदेखि पूर्व सांसदसम्मका आकांक्षी देखिएका छन् । गत १० र २१ मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएका माओवादी केन्द्रका सबै पूर्वमन्त्री, पूर्वसांसदले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि लबिङ गरिरहेका छन् । समानुपातिकतर्फ नाम रहेका माओवादी केन्द्रका कतिपय नेतासमेत राष्ट्रिय सभाको उम्मेदवार बन्ने लबिङमा छन् ।

राष्ट्रिय सभा निर्वाचनका आकांक्षीमा पूर्वमन्त्री, पूर्वसांसद, बौद्धिक व्यक्तित्वका साथै शीर्ष नेताका नातेदारसमेत रहेको पाइएको छ । प्रदेश १ बाट पूर्वसांसद टंक राई, हरि रोका र महिलातर्फ जयन्ती राईको चर्चा बढी छ । यसैगरी, प्रदेश १ बाटै सावित्रीकुमार काफ्ले, हेमराज भण्डारी, देवान किराती, बाबुराम गौतमलगायतले चासो देखाएका छन् ।

प्रदेश २ बाट पूर्वमन्त्री विश्वनाथ साह, पूर्वसांसद मानपुर चौधरी, रामकुमार शर्मा, अचुतम काफ्ले, दीपबहादुर योञ्जन, सरस्वती चौधरीलगायत झन्डै दर्जन नेताले सक्रियता देखाएका छन् । मानपुर चौधरीसहित चौधरी समुदायका कतिपय नेता भने मंसिरमा सम्पन्न निर्वाचनमा चौधरी समुदायको कोही नपरेको भन्दै असन्तुष्ट छन् ।

प्रदेश ३ मा पूर्वरक्षामन्त्रीसमेत रहेका पार्टी वरिष्ठ नेता रामबहादुर थापा र पूर्वउपप्रधान तथा स्वास्थ्यमन्त्री अमिक शेरचनको चर्चा छ । प्रदेश ३ मा पूर्वसांसद रामनारायण बिडारी, विमला सुवेदी, हरि दाहाल, सूर्य सुवेदी, कुलाल महर्जन, रामबहादुर भण्डारी, गंगाबहादुर कार्की र कृष्णप्रसाद सापकोटाले चासो देखाएका छन् ।

प्रदेश ४ मा युवा नेता लेखनाथ न्यौपानेको चर्चा बढी छ । प्रदेश ४ बाटै पूर्वमन्त्रीसमेत रहेका दिनानाथ शर्माले समेत राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्न लबिङ तीव्र पारेका छन् । रामराजा रेग्मी, कोमल बराल, बलावती शर्माले पनि उम्मेदवारका लागि तत्परता देखाएका छन् ।

प्रदेश ५ मा कुवेर ओलीको बढी चर्चा छ । पूर्वमन्त्री दलजित श्रीपाइलीले समेत उम्मेदवारका लागि लबिङ गरिरहेका छन् । प्रदेश ५ मै मानबहादुर बुढा, मेघबहादुर श्रेष्ठ, चन्द्रबहादुर खड्का, जोखबहादुर महरा, नारायणी शर्मालगायतले उम्मेदवार बन्न लबिङ गरिरहेका छन् ।

प्रदेश ६ मा मंगल शाही, मायाकुमारी शर्मा, उर्मिला विक, डा. केबी रोकायालगायतले चासो देखाएका छन् । प्रदेश ७ मा हरि चौधरी, रमा ढकाल, सहदेव बोगटी, बिनिता नेपालीलगायतले चासो देखाएका छन् । माओवादी केन्द्रभित्र उम्मेदवारको दौडधूप सुरु भए पनि पार्टीले उम्मेदवार छनोटको गृहकार्य औपचारिक रूपमा सुरु गरेको छैन । एभरेष्ट दैनिकबाट