काठमाडौँ, २ माघ । नेपाली सेनाले काठमाडौँ–तराई मधेश दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफैँ तयार गर्ने भएको छ ।
द्रुतमार्ग निर्माणका सन्दर्भमा हालसम्म भएको कार्यप्रगतिबारे सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजना उपप्रमुख सहायकरथी सूर्यप्रसाद खनालले उक्त जानकारी दिए ।
उक्त द्रुतमार्गको डिपिआर यसअघि भारतीय कम्पनीले तयार गरेको थियो । डिपिआर भारतीय पक्षसँग लिने कि नलिने भन्ने विषयमा विगतमा निकै छलफल र बहस भएको थियो ।
भारतीय पक्षसँग डिपिआरबारे सहमतिमा पुग्न समिति नै गठन गरिएको थियो । छलफलमा भारतीय पक्षले डिपिआरको मूल्य ५६ करोडभन्दा बढी माग गरेको थियो । डिपिआरका विषयमा दुवै पक्षबीच सहमति नजुटेपछि नेपाली सेनाआफैँ विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने निष्कर्षमा पुगेको हो ।
आयोजना उपप्रमुख खनालले भने, “द्रुतमार्गका लागि यसअघि बनाइएको डिपिआरको रकमको माग अत्यधिक उच्च रहेकाले सेनाले आफैँ नयाँ बनाउने सोचका साथ हामी अघि बढेका छौँ ।
विस्तृत अध्ययन प्रतिवेदन बनाउनका लागि आफूसँग भएको जनशक्ति अपर्याप्त हुने भए पनि परामर्शदाता संस्था र विज्ञलाई लिएर निर्माण गरिने उनले जानकारी दिए ।नेपाली सेनाले करिब रु २० करोडको हाराहारीमा नयाँ डिपिआर तयार हुने अनुमान गरेको छ ।
गत जेठ १० गते चार वर्षका अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित शुरु भएको राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेश द्रुतमार्गका निर्माण लागत रु एक खर्ब २० अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ ।
