वीरेन्द्रनगर, २ माघ । राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको सुरुङ खन्ने कामले तीव्रता लिएको छ । आयोजनाका सिनियर डिभिजनल इञ्जिनीयर रुक्माङ्गत खनालले दैनिक २० मिटरका दरले हालसम्म करीब १ हजार ३ सय ३५ मिटर सुरुङ खनिइसकिएको जानकारी दिए ।
टनेल बोरिङ मेशिन टीबीएम पहाड फोर्न प्रयोग हुने चालकरहितको अत्याधुनिक प्रविधिको मेशिनबाट अहिले सुरुङ खन्ने काम भइरहेको छ । नेपालमै पहिलोपटक मेशिनबाट सुरुङ खन्ने काम गरिएको हो । भेरी र बबई नदीबीचको चुरे पर्वत खन्न उक्त मेशिनको प्रयोग भइरहेको छ । सुर्खेतको भेरी–गङ्गा नगरपालिकाको छिञ्चु–जाजरकोट सडकखण्डको चिप्ले भन्ने स्थानमा १५ मिटर अग्लो बाँध बनाई सुरुङमार्फत भेरी नदीको प्रतिसेकेण्ड ४० घनमिटर पानीलाई बबईमा लगिनेछ ।