
के.वि.मसाल
नेपालीहरुको धार्मिक र साँस्कृतिक चाडपर्वहरुमा पर्यटकहरु पनि जोडिने गरेका छन । नेपालमा पछिल्लो समय तिर्थाटनका पर्यटकको संख्या वर्षेनी बढिरहेको छ । पर्यटकको रुचि तिर्थाटनमा हुने गरेको पाइएको छ । त्यसैले ती तिर्थाटन क्षेत्र अहिलेसम्म पनि जीवन्त भइरहेका छन् । माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने सास्कृतिक पर्व हो । यो पर्व माघ महिनाको पहिलो दिनमा पर्दछ ।
वाह्रकुने दहको इतिहास
वाह्रकुनेको लिखित इतिहास भेटिएको छैन । बुढापाकाहरु बाट सर्दै आएको किम्वदन्तीलाई नै इतिहास मान्ने हो भने वाह्रकुने दह प्राकृतिक दह हो । कुनै कालखण्डमा वाह्रकुने दह वरपर गाईवस्तु चराउने घना जंगल रहेको थियो । सल्यान र रोल्पाका किसानहरु हिउँदको समयमा आफ्ना गाईबस्तुहरु लिएर वाह्रकुने वरपरको जंगलमा गोठ राख्ने प्रचलन रहेछ । त्यसबेला बाह्रकुने दह वरपर गोठ ल्याउने ती गोठालाहरु १२ भाई रहेछन । एकदिन राती जेठो गोठालालाई सपना भएछ । सपनामा सेतै फुलेका बृद्व आफ्नो अगाडि उभिएर गोठालालाई भनेछन् । यो स्थान देवताको वासस्थान हो, यहाँ गोठ नराख ! यो ठाउँ जलाशय वन्दैछ ! भनेर सपनामा सजकता बनाए छन । जेठो गोठालाले विहान सपनाको कुरा सबै भाईहरुलाई सुनाएछन् । सपनाको कुराले ११ जनाले गोठ सारेछन् । तर सपना देख्नेले सपनालाई विस्वास नगरी गोठलाई सार्ने काम गरेनछन् । पुसको मसान्तको दिन विनासकारी असिना र पानी आएछ । विनासकारी पानीले गोठ वरपर जलमग्न भएकै कारण वाह्रकुने विशाल दहको रुप भएछ ।
वाह्रकुनेका पुराना कुरा अहिले कथा
वाह्रकुने दह वि.स.ं १९९० साल भन्दा अगाडि घना जंगलको वीचमा १२ ओटा प्राकृतिक कुना वनेको सुन्दर दह थियो । ती वाह्रकुनाहरु अहिले पनि देख्न सकिन्छ । ९० सालभन्दा पछि सेवार गाउँ वरपर मानव बस्तीको विकास हुन थाल्यो । मानवबस्ती पछि सिचाईको प्रयोजनमा दहको पानी प्रयोगमा आउन थालेपछि दहमा पानीको सतह सुक्दै जान थालेको हो । वन जंगलको विनास र भूक्षयको कारण दहको वरपर दिनप्रतिदिन दहको स्वरुप वदलिदै अहिलेको अवस्थामा आएको हो । वाह्रकुने दहले आफ्नो स्वरुप फेर्दै आए जस्तै माघेको मेलाको तामझाम पनि दहमा फेरिदै आएको छ । कुनैवेला वाह्रकुने दहको मेलामा जुम्ला, रोल्पा, सल्यान र रुकुम लगायत छिमेकी जिल्लाका तिर्थाटनका पर्यटकहरु को गन्तब्य थियो । त्यो समयमा बाह्रकुने दहमा पहाडी जिल्लामा उत्पादन भएका राडी, पाखी फलफुल समेत वाह्रकुने मेलामा विक्रीको लागि ल्याउने गरिन्थो । झयाउरे, कौडा नृत्य, टप्पा नाच भजन कीर्तनको ध्वनीले, रातभरी बाह्रकुने दह वरपर तिर्थाटन पर्यटनको भिड र विहान दहमा स्नान गर्ने त्यो पुरानो प्रचलन अहिले हराउदै गएको छ ।
भाकलमा नरिवल
माघे सक्रान्ती मात्र होइन पौष महिनाबाट नै बाह्रकुनेमा तिर्थाटनका पर्यटक भेडा र कुखुराको वली चडाउनेहरुको पनि उतिकै भिडलाग्ने गर्दछ । वाह्रकुनेका वराह देवता मगरजातीको मात्र नभएर अन्य जातीहरुको पनि पुजनीय छन् । वाह्रकुने वराह मन्दिरमा भेडा र कुखुराको मात्र वली चढाउने प्रचलन छ । माघे सक्रान्तीको दिन भाकल चढाउनेहरुको अन्य दिन भन्दा भिड रहन्छ । मन्दिरमा भाकल अथवा अन्यकुनै कारण दिने गरिएको वलीलाई आजभोली बिभिन्न अर्थ र तर्क दिने गरेको पाइन्छ । तर हाम्रो शास्त्र अनुसार वली शब्दको अर्थ हो अर्पण गर्नु अथवा चढाउनु वा उपहार दिनु ! राँगो रुपि–क्रोध, भेडारुपि–मोह वोकारुपि–कामवासना अर्थात काम, क्रोध र वासनालाई अर्पण गर्नु, चढाउनु पर्दछ भन्ने शास्त्रको भाव हो । तर हामीहरुले बलि भनेपछि पशुहरुलाई काटेर वली दिने गरिन्छ । यसको बारेमा वाह्रकुने दहमा भेडाको वलीदिनेहरुले सोच्न जरुरी छ । बलि दिनु राम्रो होईन, यो प्रथा गलत हो, बलिप्रथा बन्द हुनुपर्छ भनेर अहिले आवाज उठ्न थालेको छ । यसलाई सकारात्मक सोचको विकास भएको मान्नु पर्छ । नयाँ सोच ,नयाँ विचार र नयाँ भावनाको विकाश हुदै जानु समयको माग,परिवर्तन एवं विकासको नियम पनि हो र शास्त्र सम्मत निर्णय पनि यही नै हो । रगतको बलिले हैन नरिवल, कुभिण्डो, आदिको बलि दिन सकिन्छ ।
वाह्रकुने संरक्षण र प्रबद्र्धन
वाह्रकुने दह आजभोली पिकनिक स्पोर्ट समेत भएको छ । घोराही आसपासका मात्र होइन दहमा दाङ जिल्लाका अन्य स्थानका मानिसहरु पनि पिकनिकको लागी दहमा जाने गर्दछन । शैक्षीक भ्रमणको लागि पनि सबैको रोजाई बाह्रकुने दह हुने गरेको छ । प्रत्येक वर्ष स्वर्गद्वारी बाबाको दर्शन गर्न आउने तिर्थाटनका भारतिय पर्यटकहरु समेत वाह्रकुने दहमा समेत पुग्ने गरेका छन् । पर्यटकहरुले भ्रमणमा मनोरंजन लिनु मात्र होइन । प्रकृतिबाट धेरै किसिमका कुराहरु सिक्न र जान्न पनि खोज्दछन । पर्यटकहरुले भ्रमणबाटनै प्रकृति, समाज र प्रविधिको अवस्था, आवस्यकता र संभावनाहरुको पहिचान, निर्माण र प्रसार जस्ता कार्यहरु गर्न सक्दछन । त्यसैले होला भ्रमणलाई खुल्ला विश्व बिद्यालय पनि भन्ने गरिन्छ ।
वाह्रकुने दह वरपर पर्यटकहरुको लागी भ्रमण गर्ने धेरै स्थलहरु भएपनि ती स्थानको पहिचान समेत गर्न नसकेको अवस्था छ । अर्कोतिर पहिचान भएका स्थलको बारेमा पनि प्रचारप्रसार भएको छैन ।
धेरै ठाउँमा पर्यटकहरु पुग्नको लागि यातायातको पनि समस्या रहेको छ । दाङ जिल्ला एशियाकै दोस्रो ठूलो उपत्यकाको रुपमा चिनिन्छ । यही उपत्यकाभित्र विभिन्न धार्मिक स्थल, विभिन्न धर्म, संस्कृति, संस्कार, रितिरिवाज, विभिन्न जैविक विविधता, प्राकृतिक तथा वातावरणीय अवस्थाको बारेमा पर्यटकहरुले अध्ययन गर्न सक्दछन । वाह्रकुने नजिकै मौलाकोट, लाहपे र वुढाकोट गाउँमा मगर बस्ती रहेको छ । मौलाकोट ३ कि.मी.उत्तर डाडामा पर्दछ । वाह्रकुने दहसंग मौलाकोट पनि जोडिएको छ । मौलाकोटको मौलामा वैशाख पूर्णिमाको दिन रोट चढाउने परम्परा रहेको छ । मौलालाई चढाउने रोटी अर्थात रोट पकाउँदा हातले चलाउने र हातले नै झिक्ने चलन छ ।
पर्यटकियस्थलको समुचित विकास र व्यवस्थापन भएको छैन भन्दा पनि हुन्छ । यसको मुल कारण लामो समय सम्म राजनैतिक अन्योल र अस्थिरता भै रहनु पनि हो । अब सबै तहको निर्वाचन भै सकेको छ । अब संघीय संरचना कार्यान्वयनमा आउन थालेको छ । सबै राजनीतिक दलले चुनाव अगाडि सार्वजनिक गरेका घोषणापत्रमा पर्यटनबाटै समृद्धि ल्याउन गाउँघरमा पर्यटनको गन्तव्यको विकास गर्न पूर्वाधार निर्माण गर्नु पर्दछ भनेका थिए । ती कुराहरु अब राजनितीक दलहरुले ब्यवहारमा लागु गर्न पर्दछ । जिल्लामा र स्थानीय तहमा पर्यटन सूचना केन्द्रको व्यवस्था हुनु पर्दछ । गाउँमा पर्यटनको बिकास गर्न प्रकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक पक्षहरु झल्कने पुस्तक, वृत्तचित्र, पोस्टर जस्ता सामाग्रीको उत्पादन र वितरण हुन पर्दछ ।
पर्यटन मैत्री शिक्षाको अभावले गर्दा पर्यटकीय संस्कारको विकास हुन सकेको छैन । हामी आफै पनि आफ्नै वरपरका गाउँघरमा घुम्न नखोज्नु र घुम्न चाहने मानिसहरुलाई पर्यटक नै नठान्ने प्रवृति पनि छ । यो हुनुको मुख्य कारण पनि पर्यटन शिक्षाको कमि नै हो । पर्यटनबाट लाभ लिनको लागी पर्यटन मैत्री समाज र संस्कृतिको विकास गर्नु पर्दछ । यसका लागी हरेक तहमा पर्यटन शिक्षालाई अनिवार्य बनाउनु पर्दछ । खासगरी बिद्यालय तहमा अतिथि सत्कार, पथ प्रर्दशन, होटेल व्यवस्थापन, ग्रामीण पर्यटन व्यापार, ट्राभेल एजेन्सी संचालन सम्बन्धि ज्ञान दिने हो भने पर्यटनको बिकासमा सहयोग हुन्छ ।
दाङमा धेरै प्राकृतिक सम्प्रदाहरु छन जसलाई पर्यटनसँग जोड्न सकिन्छ । शहर देखि ग्रामीणबस्ती सम्म धार्मिक पर्यटनको लागि पनि उत्तिकै पहिचानका स्थलहरु छन् । बाह्रकुने दहको मेला तिर्थाटन पर्यटन संग जोडिएको छ । त्यसलाई प्रचारप्रसार एवं प्रवद्र्धन गर्नसके बाह्रकुने दहमा धेरै सम्भावनाहरु भेटिन्छ । धर्म, संस्कार आ–आफ्नो हुन्छ । सबैको धर्म, संस्कार वा संस्कृती जान्न र बुझनको लागि बाह्रकुने दह तिर्थाटन पर्यटनको लागि गन्तब्य बनेको छ । बाह्रकुने दहको संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धन गर्नु पर्दछ । यसलाई प्याकेजको रुपमा विकास गर्नुपर्ने आवश्यकता देखिएको छ । वाह्रकुने दह बिकासको लागि अब उपमहानगरपालिका, निजी क्षेत्र र पर्यटन व्यवसायीहरुले ध्यान दिनु पर्दछ ।