भक्तपुर, ३० पुस । नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले वाम गठबन्धन तोड्न देशीविदेशी शक्तिको चलखेल बढेको बताएका छन् ।
आगामी पाँच वर्षसम्म वाम गठबन्धनबाट एक प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने गरी दुई पार्टीबीच सहमति हुने बताउँदै उनले भने, “वाम गठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुनेछन्, त्यो कार्यकाल पाँच वर्ष हुनेमा कसैलाई शंका नगर्न म आग्रह गर्छु ।”
उनलेले निर्वाचन आयोगले नयाँ सरकार गठनमा देखाएको अलमल रहस्यमय छ भन्दै आयोगले तत्परता देखाउन नसक्दा नयाँ सरकार गठनमा अवरोध भएको र संविधानसमेत उल्लंघन भएको टिप्पणी गरे । उनले ६ नं प्रदेशको मुख्यमन्त्रीका लागि आफू योग्य रहेको र जिम्मेवारी बहन गर्न तयार रहेको बताए । “प्रदेश राजधानीका विषयमा ६ नं प्रदेशमा कुनै विवाद छैन, प्रदेशको समग्र विकासका लागि राजनीतिक दलहरु एक जुट हुनुपर्छ”, उनले भने । रासस