जीतपुर, २९ पुस । सन् २०१७ मा कुल ४१ हजार ५ सय ५३ जनाले प्राचीन कपिलवस्तुस्थित तिलौराकोटको भ्रमण गरेका छन् । तीमध्ये ३७ हजार ८६५ विदेशी, एक हजार ५११ भारतीय र दुई हजार १७७ नेपाली छन् । यो अघिल्लो वर्षको भन्दा ५ हजारले बढी हो । सन् २०१६ मा कूल ३६ हजार ४७१ पर्यटकले तिलौराकोटको भ्रमण गरेका थिए ।
यहाँको मुख्य दरबार भग्नावशेषमा आई सूत्रपाठ तथा पूर्वी र पश्चिमी ढोकामा गौतम बुद्धको बाल्यकालको जीवनलीला पाठ गरेपछि मात्र शान्तिप्राप्ति भई आत्मसन्तुष्टि हुने विश्वास भएकाले बौद्ध धर्मावलम्बी आउने गरेको भिक्षु मैत्री महास्थवीरले बताए । बुद्धको जीवनीसँग सम्बन्धित यहाँका धेरै पुरातात्विकस्थलमा विदेशी पर्यटक आउने गर्छन् ।
सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोटमा एक वर्षमा ६० भन्दा बढी देशका विदेशी पर्यटकले भ्रमण गरेका छन् । भ्याटिकन सिटी, जापान, जर्मनी, फ्रान्सलगायत चीनसम्मका पर्यटकले तिलौराकोट अवलोकन गरेका छन् ।
नब्बे प्रतिशतभन्दा बढी विदेशी विश्व शान्ति र सद्भावको कामना तथा तीर्थाटनका लागि आउने गरेको तिलौटाकोटस्थित लुम्बिनी विकास कोषका कर्मचारी सञ्जय शर्माले बताए । तिलौराकोटमा पर्यटकको सङ्ख्या बढ्नु सकारात्मक भएको स्थानीयबासी तेजकुमार बौद्धाचार्यले बताए । उहाँले ठोस योजना र भौतिक पूर्वाधारको अभाव भएकाले प्रायः भारतको बाटो हुँदै लुम्बिनीको भ्रमणपछि मात्र यहाँ पर्यटक आउने गरेको बताए । रासस