इन्द्रेणी संवाददाता
धनकुटा । प्रदेश नम्बर १ अस्थायी राजधानी धनकुटा बनाउनुपर्ने माग राखेर बिहीबार बिहानैदेखि गरिएको धनकुटा बन्दले जनजीवन प्रभावित बनेको छ। बन्दका कारण शैक्षिक संस्था, बजार, कलकारखाना तथा यातायातका साधन पूर्णरुपमा ठप्प छन्। हिमाल, पहाड र तराई मिलेर बनेको १ नम्बर प्रदेशको राजधानी ऐतिहासिक, प्रदेशको केन्द्र, पहिचान, पहाडी क्षेत्रको विकासको लागि धनकुटा नै बनाइनु पर्ने माग राख्दै दिनहुँ सदरमुकाम धनकुटा बजार र हिलेबजारमा विरोध प्रदर्शन नाराबाजी र प्रदर्शन हुने गरेको छ।
२८ दिनदेखि आन्दोलनरत धनकुटाबासीले यसअघि छ दिनसम्म आमहडताल गरेका थिए। प्रदेशको अस्थायी राजधानी अहिलेको सरकारले तोक्ने भएकाले मन्त्रीपरिषद बैठकलाई धनकुटा राजधानी तोक्न दबाब दिन पछिल्लो चरणमा सो बैठक बस्ने दिन धनकुटा बन्द गर्न थालिएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए।