काठमाडौँ, २६ पुस । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तराईका बाढीपीडितलाई घर मर्मतका साथै तत्काल चिसोबाट जोगाउन न्यानो कपडा खरिदका लागि रकम उपलब्ध गराउन गृह मन्त्रालयलाई एक अर्ब चार करोड ६ लाख ५० हजार रुपियाँको अख्तियारी दिएको छ ।
प्राधिकरणअन्तर्गत बाढी पुनःनिर्माण तथा पुनःस्थापना आयोजना प्रमुख डा। सुमन कर्णले बिहीबारदेखि नै प्रभावित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिमार्फत रकम वितरणको प्रक्रिया सुरु गरिने बताए । तराईमा अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएको छ, त्यसैले तत्काल राहत स्वरूप घर मर्मत गर्न र न्यायो लुगा खरिद गर्न बजेट विनियोजन गरिएको हो, उनले भने ।
बाढीपछिको पुनःस्थापना आवश्यकता आकलन प्रतिवेदनअनुसार १८ जिल्लामा पहिचान भएका ४१ हजार ६२६ घरधुरीलाई क्षति भएका घर निर्माण बापत भविष्यमा उपलब्ध गराइने अनुदानमा घटाई हिसाब मिलान गर्ने गरी रकम वितरण गर्न लागिएको हो । गोरखापत्रमा खबर छ । आयोजना प्रमुख कर्णले तराईमा राहत वितरणको कामलाई प्रभावकारी बनाउन विभिन्न राजनीतिक दल र सरोकारवाला निकायसँग छलफल भइरहेको बताए ।