काठमाडौं, २५ पुस । नेकपा एमालेले पार्टी एकताका विषयमा सार्वजनिक रूपमा कुनै पनि अडान र सर्त राखेर एकीकरण प्रक्रियालाई जटिल नबनाउन नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । स्थायी समितिको सोमबारको बैठकले नीति, नेतृत्व र एकताका विषयमा निजी धारणा बाहिर ल्याएर एकीकरण प्रक्रियालाई असहज नबनाउन पार्टीपंक्तिलाई निर्देशित गरेको हो ।
‘दुवै पार्टीबीच निकट भविष्यमै एकीकरण भएर एकीकृत कम्युनिस्ट पार्टी निर्माण हुने कुराप्रति निश्चिन्त हुन, यस सम्बन्धमा विभिन्न ढंगले व्यक्त हुने कुनै पनि भ्रम, अफवाह या अनुमानबाट प्रभावित नहुन सिंगो पार्टीपंक्ति र आमनेपाली जनतालाई यो बैठक आह्वान गर्दछ,’ बैठकपछि सचिवालय सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एकीकरणका सम्बन्धमा सार्वजनिक रूपमा कुनै पोजिसन, अडान या सर्त तेस्र्याउने कुराले एकताको प्रक्रियालाई नसघाउने बरु उल्टै जटिल बनाउने हुनाले यसो नगर्न सम्बद्ध सबैको ध्यानाकर्षण गर्दछ ।’
दुवै पार्टीले अवलम्बन गर्दै आएका नीति र त्यसको सत्यता पुष्टि हुँदै गएको छ, त्यसकै आधारमा एकता हुने हो । पार्टी एकता नेतृत्व तहबाटै सुविचारित ढंगले अघि बढिरहेको हुनाले अनुमान गर्ने, आ–आफ्नै ढंगले प्रस्ताव अघि सार्ने, कसैले पनि पोजिसन (अडान) लिएर, यो हुनुपर्छ, त्यो हुनुपर्छ भन्दै छलफलै नभएका प्रस्ताव सार्ने कुराले एकतालाई सघाउ पुर्याउँदैन । त्यसैले तपाईंहरू सबै जिम्मेवार बन्नुस्, छलफलै नभएका विषयहरूलाई मनोगत आधारमा बाहिर लगेर एकता प्रक्रियामा असहजता पैदा गर्ने काम नगर्नुस् । हामी निर्णायक बिन्दुतर्फ अघि बढिरहेका छौँ । निकट भविष्यमै पार्टी एकता सम्पन्न हुन्छ, निश्चिन्त हुनुस्। नयाँ पत्रिकाबाट