काठमाडौं, २१ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगका पदाधिकारीलाई संविधान र प्रचलित कानुनको मर्म र भावनाअनुसार निर्वाचन परिणाम समयमै सम्बन्धित निकायमा पेस गर्न सुझाव दिएकी छन्।
राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख नियुक्त नभइसकेको अवस्थामा प्रदेशसभाको मतपरिणाम बुझाउने तथा शपथग्रहण गराउने सम्बन्धमा भएका संवैधानिक, कानुनी र व्यावहारिक पाटोबारे समेत जिज्ञासा राखेकी थिइन्। प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराएकोमा उनले आयोग पदाधिकारीलाई बधाईसमेत दिइन्।
भेटमा प्रमुख निर्वाचन आयुक्त डा।अयोधीप्रसाद यादवले प्रदेशसभा सदस्य समानुपातिकतर्फको सिट बाँडफाँट गरी दलहरूले प्राप्त गरेको सिट तोक्ने कार्य सम्पन्न भई बन्दसूचीलाई समावेशी समूहअनुरूप सच्याएर ल्याउन दललाई बिहीबारसम्मको समय दिएको अवगत गराएका थिए।
उनले प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ दलले प्राप्त गर्ने सिट संख्या तोकी पत्राचार गर्न आयोगलाई संवैधानिक एवं कानुनी अड्चन देखिएको जानकारी गराए। यादवले राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा हुन बाँकी भए पनि आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अघि बढाएको जानकारी गराएका थिए। भेटमा निर्वाचन आयुक्तहरू नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह सहभागी थिए।
आयोग पदाधिकारीले अहिले देखिएको समस्यामा दलहरूबीच बैठक बसी निकासका लागि बाधाअड्काउ फुकाउ प्रस्ताव ल्याउन सकिए संकटले निकास पाउने विषय राष्ट्रपतिलाई अवगत गराएको स्रोतले जानकारी दिएको छ। अन्नपूर्ण पोष्टबाट