Indrenionline.com

कबिता: टोपी

sharad pokhrel

शरद पोख्रेल

भरोशाको साँघुरो आगनमा सुकाएको

त्याग र बलिदानका बिस्कुनहरू
सुकेर चङ्ङ भएपछि
आफ्नै हातले
आफ्नै खुशीको भकारीमा
आफैले भित्राएको दिन मात्रै
ठुल्दाइको शिरमाथि
आफै उभिनेछ टोपी

बिहान र बेलुका
खालि पेटको साम्राज्यका बिरूद्ध
माइली भाउजूको भोकको चुल्होमा
मुटुका टुक्राहरूको लागि
न्यानो आगोले घरको धुरीबाट
धुवा फालेको दिन
माइल्दाइको शिरमाथि
मैलो भएपनि त्यसै टल्कनेछ टोपी

पेटमा दुर्दशाको ठुलै पत्थरी छ भन्ने
थाह पाउदा पाउदै पनि
पाठेघरमा बेवास्ताको घाउ छ भन्ने
जान्दा जान्दै पनि
साहिली भाउजूले खोली बगरमा
पेटेघरको लागि
भाग्यको पथ्थर फोडीरहदा सम्म
कसरी उठ्ला र साहिलो दाइको शिरमा टोपी

नेपालगन्जको यादब मितबाको
घरभित्रै आतंकको बाढी पस्दा
गरीबमारा सामन्ती शितलहर चल्दा
गुमाएको मितेरी साइनोले
जुम्लाको फुर्बाको टोपी कसरी हास्ला
उता सोलुखुम्बुमा बज्रपातको हिमपातले
खरको घरै दाबेर
पहाडी दाइको जिन्दगीले
बिदा लिएको गरूंगो समाचारले
रौतहटको मधेशी भाइको
शिरमा टोपी कसरी सुहाउला

आफ्नो डाडाबारी बाझै राखेर
ऋण तिर्न दोब्बर ऋण गरेर
बिहान झिसमिसेमा दुरदेश हिडेका लाहुरेहरु
दुर्भाग्यको रातो बाकसमा
भरिएर आउनुको साटो
लथालिंग र सुनसान बाटो
भोकाएका उराठ पहाडहरू
फोड्न सक्ने रातो जोस बोकेर
अदम्य साहस भिरेर
ममताको काखमा लुट्पुटिन
घरदेश फिर्नेछन्
हो त्यही दिनदेखि लाहुरेबाको शिरमा
गरिबी र अभाबले थिचिएको त्यो टोपी
स्वाभिमानको सगरमाथा र कन्चनजंघा बनेर
दुनियालाई हाक दिन उभिने ।