काठमाडौं, ७ पुस । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३६ क्षेत्रमा जितेको नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १७ सिट जित्ने भएको छ । प्रत्यक्षमा दोस्रो दल बने पनि समानुपातिकमा भने माओवादीले कम भोट पाएका कारण प्रतिनिधसभामा ५३ सिटसहित तेस्रो ठूला दल बनेको छ । एक सय २१ सिट जितेर एमाले पहिलो दल बनेको छ भने ६३ सिट जितेर नेपाली कांग्रेस दोस्रो ठूलो दल भएको छ ।
माओवादीले समानुपातिकबाट निर्वाचित गर्न पाउने दुई पुरुषमा सातवटा क्लस्टरको पहिलो नम्बरमा रहेकामध्येबाट छनौट गर्नुपर्छ । जसमा खसआर्य कोटाको पहिलो नम्बरमा हितराज पाण्डे, आदिवासी जनजातीको पहिलो नम्बरमा सुनिलकुमार मानन्धर, दलित कोटाको पहिलो नम्बरमा तिलक परियार, थारु क्लस्टरको पहिलो नम्बरमा रामजी चौधरी, मधेसी कोटाको पहिलो नम्बरमा जोगकुमार बरबरिया र मुस्लिम कोटाको पहिलो नम्बरमा हकी कुल्लाह मुसलमान रहेका छन् ।
माओवादी स्रोतका दुई पुरुषमध्ये एक हितराज पाण्डे सांसद बन्ने निश्चित छ भने अर्को एक जना बाँकी ६ जना मध्येबाट कसलाई पठाउने भन्ने विषयमा छलफल भइरहेको छ । त्यस्तै माओवादीले समानुपातिकबाट छनौट गर्ने १५ जना महिलामध्ये खस आर्य कोटाबाट ५ जना निर्वाचित गर्नुपर्छ । आयोगमा बुझाइएको बन्द सूचीअनुसार यो कोटाबाट रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशिला चापागाईं, सत्या पहाडी र सीता पोखरेल सांसद बन्दैछन् । त्यस्तै आदिवासी जनजाती क्लस्टरबाट जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्तीमगर र यशोदा गुरुङ सांसद बन्ने निश्चित जस्तै छ ।
त्यस्तै माओवादीले दलित कोटाबाट दुईजना महिलालाई सांसद बनाउन पाउने भएको छ । जसले गर्दा बन्द सूचिको पहिलो नम्बरमा रहेकी अञ्जना विशखे र दोस्रो नम्बरमा रहेकी दुर्गा विकले सांसद बन्ने अवसर पाउनुभएको छ । मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादव छनौट हुनेछन् ।
माओवादीले थारु वा मुस्लिम कोटामध्ये एउटा बाट मात्र सांसद निर्वाचित गर्न पाउने भएको छ । दुई कोटाबाट एक÷एक जना निर्वाचित गर्दा जम्मा संख्या भन्दा पनि धेरै हुने भएकाले निर्वाचन आयोगले यस्तो अवस्थामा थारु वा मुस्लिममध्ये एउटा कोटाबाट मात्र एक जना छनोट गर्न पाउने भएको हो । यस्तो अवस्थामा थारु कोटाको पहिलो नम्बरमा रहनुभएकी रामकुमारी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचिकी चाँदतारा कुमारी सांसद बन्ने छन् ।