काठमाडौं, ४ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारको भेटमा आगामी ५ वर्षकै लागि प्रधानमन्त्री बन्न आफूलाई प्रस्ताव गरे पनि त्यो अस्वीकार गरेको बताए ।
दाहालको भनाइको पुष्टि माओवादी केन्द्रका सचिवालय सदस्य अग्नि सापकोटाले पनि गरे । ‘हामीलाई सरकारको नेतृत्व गर्ने गरी कांग्रेसले प्रस्ताव गरेको थियो’, दाहालको भनाइ उद्धृत गर्दै नेता सापकोटाले सोमबार साँझ केही सञ्चारकर्मीसँगको भेटमा भने, ‘तर अध्यक्षले शेरबहादुरजीलाई नेतृत्व हस्तान्तरण गर्दा पनि केपीजीले मलाई प्रधानमन्त्रीको अफर गर्नुभएको थियो, मानिनँ । अहिले ओलीजीलाई दिन खोज्दा पनि शेरबहादुरजीबाट मलाई अफर आएको छ तर त्यस्तो अफरमा हामी रुमल्दैनौं, अहिले त्यस्तो प्रस्ताव, अफर पार्टीको चाहना पनि होइन ।’
प्रधानमन्त्री देउवा र दाहालबीच शनिबार भेट भएको थियो । देउवाको त्यस्तो प्रस्तावमा आफूले अब यताउता नगरी ५ वर्ष प्रतिपक्षमा बस्ने मानसिकतातिर लाग्न प्रस्टै भनिदिएको दाहालले बैठकमा सुनाएका थिए । उनले निर्वाचन परिणामपछि कांग्रेसले आफ्नो पोजिसनको खोजीमा लागेकाले सरकार गठनमा केही समय विलम्ब हुने संकेत पनि बैठकमा गरे । अन्नपूर्ण पोष्टबाट