काठमाडौं, २ पुस । सरकार निर्माण, राष्ट्रियसभा अध्यादेश र प्रदेश प्रमुख नियुक्तिलगायत विषयलाई लिएर राजनीतिक ध्रुवीकरण बढिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सत्ताको लोभ त्याग्न दबाब दिएका छन्।
‘राजनीतिक सहमतिबिना प्रदेश प्रमुख तोक्ने र जनमतविपरीत सरकारको आयु लम्ब्याउने काम नगर्न अध्यक्षले प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो,’ महराले भने, ‘प्रधानमन्त्रीले चाहिँ राष्ट्रपतिकहाँ पठाएको अध्यादेश पारित भएपछि सरकार छोड्ने र सरकारमा टाँसिइरहन लालायित नभएको अडान दोहोर्याउनुभयो ।’ राष्ट्रियसभाको परिणाम नआई नयाँ सरकार गठन हुन नसक्ने र त्यसका लागि राष्ट्रपति कार्यालयमा पुगेको अध्यादेश पारित हुनुपर्नेमा प्रधानमन्त्रीले विशेष जोड दिएको उनले जानकारी दिए ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार शनिबार बिहान भएको भेटवार्तामा देउवाले दाहाललाई राष्ट्रियसभा अध्यादेश राष्ट्रपतिकहाँ रोकिनु दुःखद् भएको भन्दै एमालेले त्यसमा जनाइरहेको विरोध गलत भएको बताएका थिए । राष्ट्रपति भण्डारीले विधेयकलाई अड्काएको आशंका प्रधानमन्त्रीले गरेको परियारले बताए ।
अर्कोतिर प्रदेश प्रमुख तोक्ने र जिम्मेवारी दिने गरी सरकारले तयारी गर्न खोजेपछि वाम गठबन्धनमा रहेका एमाले(माओवादी र कांग्रेसबीचको विवाद सतहमा देखिएको छ । वाम गठबन्धनका नेताहरूले नयाँ बन्ने सरकारले मात्रै प्रदेश प्रमुख नियुक्ति गर्नुपर्नेमा जोड दिइरहेका छन् । तर प्रधानमन्त्रीका प्रेस संयोजक परियारले त्यो काम वर्तमान सरकारकै भएकाले विपक्षीले बोल्दैमा सरकार नडराउने बताए । ‘प्रदेश प्रमुख नियुक्त नभए प्रदेशसभा कसरी कार्यान्वयनमा आउँछ रु यो कामको अन्तिम तयारीमा सरकार लागिपरेको छ’, उनले भने ।
देउवाले सत्ता लम्ब्याउने नियत राखेको निष्कर्ष निकालेका ओली(दाहाल भने राष्ट्रियसभा अध्यादेश राजनीतिक सहमतिका आधारमा फेरि अघि बढाउनुपर्ने अडानमा मात्रै छैनन्, प्रदेश प्रमुख र मुकाम तोक्ने सरकारको योजनासमेत पूरा हुन नदिने रणनीतिमा छन् ।
एमाले अध्यक्ष ओलीले त देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखबाट नवनिर्वाचित सासंदहरूले शपथ नलिने बताइसकेका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक परियारले भने राष्ट्रियसभा गठन नभएसम्म र प्रतिनिधिसभाबाट नयाँ सरकार नबनेसम्म ओली विपक्षी दलकै नेता भएको भन्दै उनको भाषणको आडमा सरकार आफ्नो कामबाट पछि नहट्ने जिकिर गरे ।
दाहालले प्रधानमन्त्री देउवालाई भेट्नु अघिल्लो साँझ एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । ओलीले पनि शुक्रबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका थिए भने शनिबार देउवासँग छलफल गरेलगत्तै दाहालले पनि राष्ट्रपति भण्डारीसँग भेट गरेका थिए । ओली र दाहालअघि नै प्रधानमन्त्री देउवाले पनि राष्ट्रपति भण्डारीलाई भेटेर गतिरोध अन्त्य गर्ने विषयमा कुराकानी गरेका थिए । अन्नपूर्ण पोेष्टबाट