चितवन, २८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावनाभन्दा बाहिर नजाने बताएका छन् ।
उनले संघीय गणतन्त्रको संविधान काँग्रेस, एमाले, माओवादीलगायत दलहरुबीच सहमति भएर बनाएकाले संविधानको मर्म र भावनाअनुसार नै देशलाई नेतृत्व दिने बताए । जनतासामु यही कबुल गरेको प्रचण्डको भनाइ थियो ।
“वामपन्थीले जितेपछि अर्कै केही हुन्छ भन्ने प्रचार विल्कुल गलत हो,” उनले भने । नेपालको इतिहासमा वामपन्थी नै बढी लोकतान्त्रिक, बढी जनपक्षीय, प्रेस स्वतन्त्रताको पक्षमा र कानूनी राज्यको पक्षमा दृढतापूर्वक उभिएको र आउने दिनमा अझ राम्रोसँग यी कुरा प्रमाणित हुने अध्यक्ष प्रचण्डले बताए ।
देशमा राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको मुख्य एजेण्डालाई प्रमुखता दिएर नै वाम गठबन्धन बनाएको र जनताले त्यसलाई राम्रोसँग अनुमोदन गरेको उनले बताए । नेपाली जनताको आशा र अपेक्षाअनुसार वामपन्थीको सरकारले राजनीतिक स्थायित्व प्रदान गर्ने, आर्थिक विकास र समृद्धिको नयाँ यात्रातिर देशलाई डो¥याउने उनको भनाइ थियो ।