Indrenionline.com

३ खर्ब ६१ अर्ब ४० करोड रुपैयाँबराबरका नोट आगोमा

काठमाडौं, २८ मंसिर । नेपालमा कागजी नोट सुरु भएको ७२ वर्षमा नेपाल राष्ट्र बैंकले ३ खर्ब ६१ अर्ब ४० करोड ४१ लाख रुपैयाँबराबरका नोटहरू जलाएको छ । चलनचल्तीमा रहेका कागजी नोटको सरदर आयु २ देखि ५ वर्षसम्म रहने राष्ट्र बैंकको भनाइ छ । आर्थिक वर्ष ०७३/७४ मा मात्र विभिन्न दरका २५ अर्ब ७५ करोड ४२ लाखबराबरका नोट जलाएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य नोटहरू फिर्ता ल्याएर जलाउने गर्छ । बैंक तथा वित्तीय संस्थाहरू एवं सर्वसाधारणसँग रहेका झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य नोटहरू आफ्नो नोटकोषमार्फत फिर्ता ल्याएर समय–समयमा जलाउने गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले बताए । उनका अनुसार साना मूल्यका नोटको आयु सरदर २ वर्ष र ठूला मूल्यका नोटको आयु सरदर ५ वर्ष हुन्छ ।

४ खर्ब ३ अर्बको नोट चलनचल्तीमा
अर्थतन्त्रको आकारसँगै बजारमा चलनचल्ती हुने नोटको परिमाणसमेत बढ्दै गएको छ । हाल नेपालमा ४ खर्ब ३० अर्ब रुपैयाँबराबरका नोट चलनचल्तीमा छन् । यो अघिल्लो वर्षको भन्दा ११।६१ प्रतिशतले बढी हो ।

नोटको मूल्य र परिमाण दुवै बढेको राष्ट्र बैंकको तथ्यांक छ । ०७३ असारसम्म विभिन्न दरका ३ खर्ब ८६ अर्ब १६ करोड रुपैयाँबराबरका नोटहरु चलनचल्तीमा रहेका थिए । ०७४ असारमा आइपुग्दा नोटको परिमाण ११।६१ प्रतिशतले बढेर ४ खर्ब ३० अर्ब ९९ करोड रुपैयाँबराबर पुगेको हो । नयाँ पत्रिकाबाट