हुम्लामा भारी हिमपात, चिसो पढे पनि किसानहरु हिउँदेवाली सप्रने आशामा
इन्द्रेणी समाचारदाता
अरुण केसी
सिमिकोट, २६ मंसिर । हिमाली जिल्ला हुम्लामा मंगलवार विहानदेखि हिमपात शुरु भएको छ । हिमपातका कारण अत्याधिक जाडो बढेको छ । हिमपातसंगै जिल्ला सदरमुकाम सिमिकोटको तापक्रम माईनसमा झरेको छ । सदरमुकाम सिमिकोटमा एक फिट हिउँ जमेको छ । लगातार हिमपात भै रहेकोले अझै हिउँ जम्ने स्थानीयहरुको अनुमान छ ।
हिमपातका कारण जिल्लाका उत्तरी भेगका नाम्खा र सिमकोट गाउँपालीका अन्तर्गत मुचु, लिमी, खगालगाउँ, हेप्का, स्याँडा, खगालगाउँ, सिमकोट, बरगाउँ क्षेत्रका बासिन्दा बढि प्रभावित भएका छन् ।
हिमपातका कारण अत्याधिक जाडो बढेकाले मानिसहरु घर बाहिर निष्कन सकेका छैनन् । चिसोका कारण जिल्ला सदरमुकाम सिमिकोटमा रहेका सरकारी कार्यालयहरुमा सेवाग्राहीको चाप घटेको छ । हिमपातले हिउँदेवाली सप्रने किसानहरुको भनाइ छ ।