काठमाडौं, २६ मंसिर । कैलाली–१ बाट भारी मतान्तरले निर्वाचित राजपा उम्मेदवार रेशमलाल चौधरीले सार्वजनिक हुने वातावरण निर्माणका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेताहरुसँग सम्पर्क स्थापित गर्न खोजेका छन्।
‘कम्तिमा उहाँहरुसँग आफ्नो कुरा राख्न पाए हुन्थ्यो भन्ने लागेको छ’ चौधरीले भने, ‘कैलालीमा सामाजिक सद्भाव बढाउन पनि मेरो उपस्थिति आवस्यक छ। शीर्षनेताहरुले त्यहाँको जनमत बुझेर सार्वजनिक हुने वातावरण मिलाउने विश्वास लिएको छु।’
‘मलाई जनताले विजय गराइसके तर जनप्रतिनिधि भएर पनि सीमाक्षेत्रमा लुकेर बस्नुपर्ने अवस्था छ’ चौधरीले दुखेसो पोख्दै थपे ‘जनअदालतबाट निर्दोष सावित भइसक्दापनि सार्जजनिक भएर जनताको बीचमा जान सक्ने अवस्था रहेन। मेरो अनुरोध छ, जनमतको मर्यादा राखेर मलाई सार्वजनिक हुने अवस्था शीर्ष नेताहरुले बनाइदिनुहोस्।’
आफू सार्वजनिक हुने अवस्था नरहेपनि कैलाली–१ मा विजयर्यालीको तयारी भइरहेको चौधरीले बताए। उनका अनुसार, श्रीमती रन्जिता श्रेष्ठको नेतृत्वमा त्यहाँ विजय र्यालीको आयोजना गरिएको छ। ‘जनताले त्यति मायाँ गरेर जिताएका छन्, तर म उपस्थित हुनसक्ने स्थिति रहेन’ उनले भने, ‘निकै दुख लागिरहेको छ।’
सम्बिधान जारी हुनुअघि ७ भदौ २०७० मा टीकापुरमा थारु समुदायले आयोजना गरेको कार्यक्रमले साम्प्रदायिक रुप लिँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको ज्यान गएको थियो। त्यो घटनाको अभियोग रेशममाथि पनि छ। अर्का अभियोगी लक्ष्मण चौधरी जेलमा रहेर चुनाव लडेपनि पराजित भइसकेका छन्। नेपाल खबरबाट