चितवन, २५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिएको बताएका छन् ।
आज बिहान यहाँ पत्रकारसँग कुराकानी गर्दै दाहालले जनताले अब समृद्धि र विकास चाहेकाले अहिलेको चुनौती र अभिभारा पूरा गर्न वाम गठबन्धनको सरकारले पाँच वर्षमा धेरै काम गर्नुपर्ने बताए।
सरकार गठन अघिनै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको पहल हुने दाहालले बताए। आफू काठमाडाँै फर्किएलगत्तै पार्टी एकता समन्वय समितिको बैठक राखी यसलाई टुङग््याउने उनले बताए ।
उनले भने– “पार्टी एकताका विषयमा कुनै आशंका नराख्नुस्, यो आशंका इतिहास बन्छ ।” अब देशको भावी प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने भन्ने विषयमा छलफलबाट टुंगो लाग्ने उनको भनाइ थियो । ठूलो पार्टीको हिसाबले केपी ओलीको दाबी हुनु स्वभाविक रहेको बताउँदै पार्टीका शीर्ष नेता हार्नुका कारण खोजिने र मिलाएर लैजाने उहाँले बताउनुभयो । रासस