जीवनी/व्यक्तित्व
को हुन भावी मुख्यमन्त्री शंकर पोखरेल ? शब्द चित्रमा
नेपालको बामपन्थी आन्दोलनमा शंकर पोखरेल स्थापित नेता हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलको बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई उदाहरणीय मानिन्छ । भारतमा अध्ययनरत छँदा उहाँले प्रवासी नेपाली विद्यार्थीहरुको नेताको रुपमा उनीहरुको हक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।
उहाँले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षलगायतको जिम्मेवारी बहनगर्नुभएको छ । कुनै समय जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाहगर्नुभएको छ । विक्रम सम्वत २०१९ सालफागुन १५गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराजशर्मा र आमा तिलकादेबीको कान्छो सन्तानको रुपमा जन्मनु भएका पोखरेल हाल नेकपा एमालेको स्थायी कमिटि सदस्य हुनुहुन्छ ।
जनकपुरमाभएको एमालेको सातौ महाधिवेशनमा पोखरेलले अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव लैजानु भएको थियो । संविधान सभामार्फत राज्यको पुनसंरचना आवश्यक रहेको निष्कर्सका साथ उहाँले पार्टीमा राज्य पुनसंरचना सम्वन्धि लिखित दस्तावेज प्रस्तुतगर्नु भएको थियो । राज्यको पुनसंरचना सम्वन्धि पार्टीद्वारा गठन गरिएको कार्यदलको उहाँ सचिवहुनुहुन्थ्यो । अघिल्लो संविधानसभामा राज्य पुनर्संरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेल्नु भएका पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो । पार्टीको आठौ राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्वन्धमा उहाँले प्रस्तुत गर्नु भएको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्विकार गरेको थियो । राष्ट्रिय राजनीतिका प्रमुख मुद्दाहरुका पार्टी दृष्टिकोण निर्माण गर्ने कुरामा समेत उहाँको नेतृत्वकारी भूमिका रहने गरेको छ । उच्चस्तरको बैचारिक क्षमता र कुशलवक्ताको रुपमाउहाँले संसदमासमेत जनसरोकारका विषयलाई जोडदार ढंगले उठाउने सिमित सांसदहरुमा पर्नुहुन्छ ।
हाल पार्टीमा पोखरेलले पार्टि स्कुल विभागको उपप्रमुखको समेत जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । पार्टी कार्यकर्तालाई प्रशिक्षितगर्ने काममापोखरेल निकै सक्रिय हुनुहुन्छ । नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका खेलेका पोखरेल पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायमगर्न सक्ने नेताहरु मध्ये एक हुनुहुन्छ । विगतमा पार्टी सचिवको रुपमा काम गरिसक्नु भएका पोखरेलले सूचना तथा संचार मन्त्रीको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ । पोखरेलका राजनीतिक, बैचारिक र समाजका विविध क्षेत्रमा थुप्रै पुस्तक र लेख रचनाहरु प्रकाशित छन् । उहाँले साहित्य सृजनातर्फ पनिउत्तिकै सक्रियताका साथ कलमचलाउनु भएको छ ।
संक्षेपमा शंकर पोखरेलः
– विक्रम संवत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराज शर्मा र आमा तिलकादेबीको कान्छो सन्तान ।
– त्रिभुवन विश्वविद्यालयबाट एमबीए तहको अध्ययन पुरा गर्नुभएका पोखरेल भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेता मध्ये एक ।
– आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उहाँका सोचहरुलाई पार्टीको नवौ महाधिवेशनले पार्टीको राजनीतिक कार्य्दिशाको रुपमा आत्मसात ।
– ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित ।
– हाल नेकपा एमालेको स्थायी कमिटि सदस्य , पार्टि स्कुल विभागको उपप्रमुख र विगतमा पार्टी सचिव साथै सूचना तथा संचार मन्त्रीको जिम्मेवारी ।
– नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का तर्फवाट पाँच नम्वर प्रदेशको मुख्य मन्त्रीका प्रस्तावित ।
– नेपालको बामपन्थी आन्दोलनमा स्थापित नेता ।
– जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका ।
– विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलता ।
– अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष ।
– अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्व विद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह ।
– २०३६ सालमा भएको विद्यार्थी आन्दोलन र २०४५÷४६ पञ्चायती ब्यवस्था अन्त्यका लागि भएको आन्दोलनकोमा नेतृत्वदायी भूमिका ।
– २०६२÷६३ को जनआन्दोलनमा काठमाण्डौको मोर्चावाट आन्दोलनको नेतृत्व र गणतन्त्रका पक्षमा काठमाण्डौ त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको प्रमुख वक्ता ।
– माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जनागर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा शान्ति पदयात्राको नेतृत्व
– माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको सचिव ।
– एमालेको सातौ महाधिवेशनमा अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव पेश ।
– राज्यको पुनसंरचना सम्वन्धि पार्टीद्वारा गठन गरिएको कार्यदलको सचिव ।
– आठौ राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्वन्धमा प्रस्तुत गर्नु भएको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्विकार ।
– केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उहाँले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादनको जिम्मेवारी समेत बहन ।
– साहित्य सृजनातर्फ पनि उत्तिकै सक्रियताकासाथ युग लहर, सिमाना परिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्प लगायत पत्रिका र साहित्कि रचना संग्रहरुको सम्पादन साथै एक्काइसौ शताव्दी नामक वैचारिक प्रकाशनको प्रकाशन र सम्पादन ।
– नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायम गर्न सक्ने नेताहरु मध्ये एक ।
प्रस्तुतीः अजय शर्मा