Indrenionline.com

गुण्डा नाइके दीपक मनाङ्गेले चुनाव जिते

इन्द्रेणी संवाददाता
मनाङ्ग २२ मङ्सिर । बाम गठबन्धनबाट मनाङ्गमा एमाले उम्मेदवारले उम्मेद्वारी दिएको मनाङ्गमा स्वतन्त्र उम्मेदवार तथा गुण्डा नाइके भनेर चिनिने दीपक मनाङ्गे विजयी भएका छन् ।

एमाले उम्मेदवारले मनोनयन फिर्ता लिएर आफ्नो समर्थन मनाङ्गे लाई गरेपछि स्वतन्त्र उम्मेदवार दीपक मनाङे उर्फ राजीव गुरुङ हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले १ हजार ४ सय १० मत पाएका छन् । प्रतिद्धन्द्धी कांग्रेसका कर्म गुरुङ ३ सय ९० मतले पराजित भएका छन् । उनले १ हजार २० मत पाएका छन् । मनाङ प्रदेश (ख) मा माथिल्लो मनाङको ७ गाविस मिलेर बनेको नेस्याङ गाउँपालिका साथै नार र फू गाविस मिलेर बनेको नारफू गाउँपालिका पर्छ । कूल ३ हजार ७ सय २ मतदाता रहेको मनाङ (ख) मा २ हजार ४ सय ३६ मत खसेको थियो ।

एमाले उम्मेदवार खाण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिँदै राजीव गुरुङलाई समर्थन जनाएकी थिइन् । जिल्लाबाट एमालेले राजीवलाई सर्वसम्मत सिफारिस गरेपनि उनको विरोध हुन थालेपछि एमाले केन्द्रीय कमिटीले उनको नाम हटाएर खाण्डालाई आधिकारिक उम्मेदवार बनाएको थियो । मनाङेले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।