काठमाडौं, २० मंसिर । सरकारले गत वर्ष र यो वर्ष गरी गाई भैँसीलाई सुत्केरी भत्ताबापत सवा करोड रुपैयाँ वितरण गरेको छ । गत वर्षदेखि सुरु भएको कार्यक्रमका लागि पशुसेवा मन्त्रालयमातहतको पशु उत्पादन निर्देशनालयले यो वर्ष ४० जिल्लाका ४ हजार किसानलाई गाई–भैँसी सुत्केरी भत्ताबापत १ करोड रुपैयाँ स्थानीय निकायलाई हस्तान्तरण गरेको हो ।
पशु विकास अधिकृत मेघराज ढकालले जानकारी दिए । गत वर्ष इलाम, उदयपुर, ललितपुर, नुवाकोट, पर्वत, स्याङ्जा, प्युठान, सुर्खेत, डडेल्धुरा र बैतडीमा कार्यक्रम सञ्चालन भएको थियो । ‘प्रत्येक जिल्लामा १ सय किसानका दरले १ हजारलाई भत्ता वितरण गर्ने लक्ष्य थियो,’ ढकालले भने, ‘तर, त्यसभन्दा थोरैको आवेदन परेकाले सबैले गाई–भैँसी स्याहार्न भत्ता लगेका छन् ।’
सरकारले गत वर्षदेखि सुत्केरी गाई–भैँसी स्याहार्ने किसानलाई २ हजार ५ सय रुपैयाँ दिन थालेको हो । गोठमा गर्भाधान भएको वा हुन लागेका गाई–भैँसी पाल्ने किसानले भत्ता लिन सम्बन्धित स्थानीय निकायमा जानकारी दिनुपर्ने निर्देशनालयका पशु विकास अधिकृत मेघराज ढकालले जानकारी दिए ।