इन्द्रेणी संवाददाता
दाङ, १६ मंसिर । निर्वाचन आयोगका निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले कुनै पनि हालतमा कसैलाई कहीपनि बुथ कव्जा गर्न नदिने बताएका छन् । मंसिर २१ गतेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आयोग प्रतिवद्ध भएकाले समेत उनले बताए । दाङको घोराहीमा आज शनिवार जिल्ला प्रशासन कार्यालय दाङले आयोजना गरेको कार्यक्रममा निर्वाचन आयुक्त पौडेलले निर्वाचनको तयारी पूरा भएको र दोस्रो चरणमा हुने ४५ जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन हुने दावी गरे ।
कार्यक्रममा दाङ जिल्लाका प्रमुख निर्वाचन अधिकृत हेमन्त रावलले जिल्लामा निर्वाचनको तयारी करीव करीव पूरा भएको जानकारी दिदै अहिले जिल्लाका ३९४ मतदान केन्द्रमा खटिने कर्मचारीहरुलाई नियुक्त पत्र र पारिश्रमिक दिने काम भइरहेको र आइतवारबाट निर्वाचन सामग्री उपलव्ध गराएर कार्य स्थलतर्फ पठाइने बताए ।
प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जिल्लामा शान्ति पूरा रुपमा निर्वाचन सम्पन्न गराउनका लागि सुरक्षाको कुनै पनि कसर बाँकी नराख्ने बताए । उनले जिल्लाको सुरक्षाका लागि करीव चार हजार एक सयभन्दा वढी प्रहरी, सेना सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिए । त्यस्तै प्रदेश नं. ५ का प्रहरी प्रमुख मधुसुदन बुडासैनीले दाङसहित प्रदेश नं. ५ का जिल्लाहरुमा निर्वाचन सुरक्षा कडा बनाइएको जानकारी दिए । यहाँ अपुग भएका सुरक्षाकर्मीहरु बाहिरबाट झिकाइसकेको र सुरक्षा अत्यन्तै कडा बनाइएको उनले बताए ।