काठमाडौं, १४ मंसिर । विदेशबाट आएका टेलिफोन कल अवैध मार्गबाट आउने गरेको नेपाल टेलिकमले बताएको छ । यसबाट राजस्व समेत छली हुने गरेको टेलिकमले जनाएको छ ।
कम्पनीले प्रेस विज्ञप्ति जारी गरी ग्राहकहरू यस्ता कलबाट सचेत हुन साथै टेलिकमकै मोबाइल नम्बर देखिएमा १८८ नम्बरमा फोन गरी सो नम्बर टिपाइ दिन आग्रह गरेको छ । उक्त नम्बरमा फोन गर्दा शुल्क लाग्दैन ।
विदेशबाट कल गर्ने व्यक्तिको टेलिफोन नम्बर ट्रयाक गर्न कठिन हुने भएकोले त्यस्ता कलमार्फत विभिन्न प्रकारका अवाञ्छित गतिविधि हुने खतरा भएको साथै ठगी गर्ने नियतले ‘चिठ्ठा परेको’ भन्दै केही दिन यता विभिन्न सेवाग्राहीलाई गरिएका कलहरूमा समेत यस्ता नम्बर प्रयोग भएको टेलिकमले बताएको छ ।