काठमाडौं, १२ मंसिर । पहिलो चरणमा सम्पन्न निर्वाचनको मतगणना मंसिर २१ पछि मात्रै हुने भएपछि मतपेटिका सुरक्षा अहिले सर्वाधिक चासोको विषय बनेको छ । मतपेटिका सुरक्षाका लागि निर्वाचन आयोगले तीन घेराको सुरक्षा प्रबन्ध मिलाएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा सेना सुरक्षाका लागि खटिने गरी मतपेटिकाको सुरक्षा प्रबन्ध मिलाइएको आयोगले जनाएको छ ।
सोमबार साँझसम्म १५ जिल्लाका दुई हजार चार सय १० मतपेटिका कोठामा बन्द गरी सिल गर्ने काम भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । ‘राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार राखेर सहमतिका आधारमा मतपेटिकाको सुरक्षा हुनेगरी मतपेटिका राख्ने स्थानलाई सिलबन्दी गर्न थालिएको छ’, प्रवक्ता ढकालले भने, ‘अहिलेसम्म १५ जिल्लाका दुई हजार चार सय १० स्थानको मतपेटिकाका सुरक्षित रूपमा सिलबन्दी गरिसकिएको छ । मंगलबारसम्म ३२ वटै जिल्लाका मतपेटिका सुरक्षित स्थानमा सिलबन्दी भइसक्छ ।’
मतपेटिका राखी कोठामा सिलबन्दी गरियो
सबै बुथबाट जिल्ला निर्वाचन कार्यालयमा जम्मा भएका मतपेटिका निर्वाचन अधिकृतले अहिले दलका उम्मेदवार, प्रतिनिधिहरूको रोहबरमा सुरक्षित कोठामा राखेर सिलबन्दी गरिरहेका छन् ।
जिल्ला सदरमुकाममा केन्द्रित भएका मतपेटिका बन्दकोठाभित्र राख्नुअघि उम्मेदवारहरूलाई पहिले मतपेटिका राख्ने कोठाको निरीक्षण गराइएको र त्यसपछि मतपेटिका सुरक्षित गर्न अवलम्बन गर्ने कानुनी व्यवस्थाबमोजिम प्रक्रिया पूरा गरी सुरक्षित गर्ने काम भइरहेको आयोगले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयले बन्दकोठाभित्र सम्बन्धित निर्वाचन क्षेत्रका गाउँपालिका तथा नगरपालिकाका नाम भित्तामा टाँसेर त्यहीँ मतपेटिका राख्ने गरी व्यवस्थापन गरेको छ । बलियो गरी कोठाका झ्यालढोका बन्द गरेर मतपेटिका राखेपछि कोठामा निर्वाचन अधिकृतले दलहरूका प्रतिनिधिको रोहबरमा लाहाछाप लगाई सिलबन्दी गरिएको छ । अन्नपूर्ण पोष्टबाट