Indrenionline.com

महरा पुगे जनयुद्धका घाइतेको स्वास्थ्य अवस्था बुझ्न

पाण्डव शर्मा
घोराही । उप–प्रधानमन्त्री एवं दाङ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णबहादुर महराले जनयुद्धका घाइतेलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।


महराले शुक्रवार विहानै जनयुद्धका घाइते घोराही गैरागाउँ गनारी निवासी केशव चौधरी ‘अर्जेन्ट’ लाई भेटेर स्वास्थ्य लाभको कामना गरेका हुन् । चौधरी जनयुद्धको क्रममा टाउकोमा वमको छर्रा लागेर घाइेत भएका हुन् । गिदिको केही भाग समेत छर्राले छोएका कारण अप्रेशन गरेर निकाल्न नमिलेको उनले जानकारी दिए ।

चौधरीले चुनावी अभियानमा रहेका महरालाई विजयको शुभकामना समेत दिएका छन् । उनले आफू जस्ता हजारौं युवाहरुको सपना साकार पार्न महरालाई आग्रह गरेका थिए ।

‘यो क्षेत्रमा हजुरको जित सुनिश्चित भइसकेको छ, अब तपाई देश विकासमा लाग्नुहोला,’ चौधरीले भने, ‘शान्ति प्रकृया र संविधान निर्माणमा पार्टीको तर्फबाट तपाईले उल्लेखनिय भूमिका निर्वाह गर्नुभएको छ, यसमा हामी सबै घाइते तथा अपाङ्गहरु खुशी भएका छौं ।’

महराले आफू शहिद तथा घाइेत अपांगहरुको सपनालाई पूरा गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । उनले दश वर्ष सम्म आफूले मुलुकको शान्तिप्रकृया र संविधान निर्माणमा प्रमुख ध्यान दिएको जानकारी दिए ।

‘अब म पूरै देश विकास र समृद्धिका लागि लाग्ने हु,’ महराले भने, ‘पाँच नं प्रदेशको राजधानी दाङ बनाउने मेरो प्रमुख जिम्मेवारी हो ।’