काठमाडौं, ५ मंसिर । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले वर्तमान कामचलाउ सरकारले गरेका सबै निर्णय उल्टिने बताएका छन् । एकमहिने सरकारले चुनावको मुखमा लाइसेन्स दिने र खोस्ने काम गरिरहेको आरोप लगाउँदै ओलीले आगामी सरकारले यस्ता सबै निर्णय सच्याउने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा सोमबार आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस’मा उनले यस्तो बताएका हुन् । निर्वाचन सुरक्षामा सरकारले चासो नदिएको आरोप लगाउँदै ओलीले परियोजनाको लाइसेन्सभन्दा निर्वाचनमा ध्यान दिन सरकारलाई सुझाब दिए । ‘बम पड्किएको पड्कियै छ, तर सरकारको ध्यान गएको छैन,’ उनले भने, ‘चुनावको वेला लाइसेन्स दिनु र खोस्नु मिल्दैन, यो अनधिकृत काम हो, यसलाई आगामी सरकारले सच्याउनेछ ।’ देउवा सरकारले एक महिनाको मौका छोपी ‘हाटहुट’ र ‘लाटलुट’ पार्न खोजेको आरोप उनले लगाए ।