भक्तपुर, ११ कार्तिक। पहिलो चरणअन्तर्गत आगामी मङ्सिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छाप्ने कार्य शुरु भएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले शुक्रवार साँझ मतपत्रको छपाइ भइरहेको भक्तपुर सानोथिमिस्थित जनक शिक्षा सामग्री केन्द्रमा पुगेर मतपत्र छपाइसम्बन्धी निरीक्षणपछि सो जानकारी दिएका छन् ।
उनले निर्वाचन तोकिएको मितिमा हुनेमा शंका नगर्न आग्रह गर्दै तोकिएको मितिमा निर्वाचन गर्नका लागि सम्पूर्ण शक्ति लागिपरेको बताए । उनले भने, “निर्वाचनको मितिका सम्बन्धमा सरकारको समेत प्रतिबद्धता आइसकेको छ । सरकारको पूर्ण सहयोग छ, त्यसैले निर्वाचन सर्छ कि भन्ने आशंका व्यक्त गर्नु जरुरी छैन ।” उनले सर्वोच्च अदालतबाट अहिलेसम्म निर्वाचनलाई असर गर्ने कुनै आदेश नआएको जानकारी दिँदै अदालतले गर्ने आदेशलाई आयोगले सधैँ उच्च सम्मानका साथ पालना गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस