काठमाडौं । ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं.–८ का निर्वाचित वडा अध्यक्ष सुकबहादुर लामाको नेतृत्वमा वडाका सम्पूर्ण जनप्रतिनिधि सहित सयौं जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रमा प्रवेश गर्दै स्वतन्त्र रुपमा निर्वाचित वडा अध्यक्ष लामाले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचनमा हामी कुनै पार्टीमा नलागी चुनाव लडेका थियौं । मसहित सबै वडा सदस्यहरुले स्वतन्त्र उम्मेद्वारका हैसियतले चुनाव लड्यौं र जित्यौं । अहिले माओवादी केन्द्रको नीति, कार्यक्रम र योजनाबाट मात्रै स्थानीय तहलाई नमूनायोग्य बनाउन सकिन्छ भन्ने विश्वासका साथ माओवादी केन्द्रमा आएका छौं ।’
पार्टी प्रवेश गराउँदै पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वतन्त्र उम्मेद्वारका हैसियतले निर्वाचन जित्ने कुरा सामान्य मात्र नभएको बताउँदै माओवादी पार्टीको नीति र योजनाबाट मात्रै स्थानीय तहका जनप्रतिनिधिले जनचाहना अनुरुप काम गर्नसक्ने बताए ।