Indrenionline.com

३२ जिल्लाको मनोनयन दर्ता आज, जताततै शान्तिपूर्ण

दाङ ५ कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा मसिर १० गते हुने निर्वाचनका लागि आज ३२ जिल्लामा उम्मेदवारी दर्ता शान्तिपूर्ण रूपमा भएको छ ।

उम्मेदवारी मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले मनोनयनको फाराम लैजानाका साथै उम्मेदवारी दर्ता गर्ने क्रम शुरु भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ आज उम्मेदवारी दर्ता हुँदैछ । मनोनयन दर्ता कार्यक्रम बिहान १० देखि अपराह्न ५ बजेसम्म चल्ने छ ।

पहिलो चरणमा निर्वाचन हुने जिल्लामा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोरखा, रुकुम (पूर्वी भाग), रोल्पा, रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी छन् ।