महेश श्रेष्ठ
साउदी अरब । वैदेशिक रोजगारमा आएका नेपालीहरुलाई अकालमै हुने मृत्यु र स्वास्थ्य समस्याबाट जोगाउन पहिलो पटक सचेतना अभिवृद्धि अभियान कार्यक्रम गरिएको छ । साउदी अरबको जुबैलमा रहेका कामदार नेपालीहरुलाई विवेकशिल नेपालीको यहाँस्थित शाखाको आयोजनामा उक्त सचेतना प्रदान गरिएको हो ।
उक्त सचेतना अभिवृद्धि कार्यक्रम नेपाली राजदुतावासका द्वितीय सचिव कुलबहादुर मगरको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको थियो । मगरले दुतावासको तथ्यांक अनुसार साउदी अरबमा मर्नेहरुको संख्या वार्षिक तीन सय बढी रहेको जानकारी दिदै यस्ता सचेतना कार्यक्रमले नेपालीहरुको असमायिक मृत्यु हुनबाट जोगाउन सहयोग पुग्ने भन्दै कार्यक्रमको सह्रना गरे । उनले यस्ता कार्यक्रममा नेपाली राजदुतावासको साथ सहयोग समेत रहने जानकारी दिए ।
कार्यक्रममा नेपाली साझा मंचका अन्तर्राष्ट्रिय अभियन्ता महेश श्रेष्ठले प्रवासी नेपाली कामदारहरुले व्यक्तिगत स्वास्थ्य र सुरक्षालाई वेवास्ता गर्दा गम्भिर क्षति व्यहोर्नुका साथै कानुनी रुपमा पाईने आर्थिक राहत समेत गुमाउनु परेको चर्चा गर्दै सचेतता अपनाउन आग्रह गरे । श्रेष्ठले सचेतना अभियानको सह्रना गर्दै सरकार र सरोकारवाला संगठन र संस्थाले पनि प्रवासी कामदारहरुको सवालमा राजनीति मात्रै नगरी उनीहरुको स्वास्थ्य सुरक्षमा ध्यान दिए बाक्समा बन्दमा भएर जानपर्ने अवस्था समेतमा कमि आउने बताए । त्यसैगरी गैर आवासीय नेपाली संघका क्षेत्रीय सचिव अन्जनी कुमार अधिकारीले आफू आबद्ध संस्थाले यस्ता सवालमा ध्यान दिन नसेकाप्रति लज्जाबोध गर्दै आगामी दिनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । एनआरएनए जुबैलमा अध्यक्ष ओमप्रसाद फुयालले कार्यस्थलमा कामदारहरुले सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर सुरक्षानीति अवलम्बन गरेर परिवारमा खुसी लिएर जान सकिने बताउदै स्वास्थ्य सुरक्षालाई ध्यान दिनु पर्नेमा जोड दिए ।