असोज ३०, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा भएका सकारात्मक परिघटनाहरुको संश्लेषण र सम्मानसहित पार्टी एकता हुने स्पष्ट पार्नुभएको छ ।
सोमबार बिहान अखिल (क्रान्तिकारी) को पदाधिकारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले इतिहासका सकारात्मक परिघटनाको संश्लेषण र सम्मानसहित पार्टी एकता हुने बताउनु भएको हो । ‘हामीले एमाले लगायतका कम्युनिष्ट र बामपन्थी समूहसँग पार्टी एकताको तयारी गरेका छौं । एकताको तयारीपछि कतिपय साथीहरुले जनयुद्धको भूमिका के हुन्छ ? महान् जनयुद्धमा बलिदान गरेका सहिदहरुको सम्मान हुन्छ कि हुँदैन ? बेपत्ताहरुको सम्मान कसरी हुन्छ ? जस्ता प्रश्न उठाउनु भएको छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलठूला बलिदान भएका छन्, संघर्ष भएका छन् । तीनै बलिदानी र संघर्षको बलमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ । जनयुद्धसहित इतिहासका यी सबै घटनाहरुको सम्मान हुन्छ, संश्लेषण हुन्छ र इतिहासमा भएका सकारात्मक परिघटना र योगदानको सम्मानसहित पार्टी एकता हुन्छ ।’
‘विद्यार्थी आन्दोलन कम्युनिष्ट आन्दोलनमा उत्तराधिकारी निर्माणको आन्दोलन हो’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अखिल (क्रान्तिकारी) ले प्रत्यक्ष निर्वाचनमार्फत् केन्द्रीय समिति निर्वाचित गरेको छ । यो हाम्रा लागि महत्वपूर्ण अनुभव र शिक्षा पनि हो । विद्यार्थी आन्दोलन कम्युनिष्ट आन्दोलनमा उत्तराधिकारी निर्माण गर्ने आन्दोलन पनि हो । आन्तरिक प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने नेताहरु नै विरोधीहरुसँगको प्रतिस्पर्धामा पनि आफूलाई विजयी बनाउन सक्छन् ।’
सामयिक राजनीतिबारे बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामीले संघ र प्रदेशको निर्वाचनसम्म नेपाली कांग्रेसको सरकारलाई समर्थन गर्ने र निर्वाचन सम्पन्न गर्ने सहमति गरेका थियौं । उक्त सहमतिमा हामी अहिले पनि इमान्दार छौं । यो बीचमा प्रधानमन्त्रीले राप्रपाका नेताहरुलाई मन्त्रीमा नियुक्त गर्नुभएको छ । हाम्रा मन्त्रीहरुको अवस्था के हुन्छ ? भन्ने चासो पनि व्यक्त हुन थालेको छ । आजै प्रधानमन्त्रीसँग भेट्छु, उहाँले चाहेको के हो ? त्यसैका आधारमा हामी निर्णयमा पुग्छौं ।’