असोज १०, भरतपुर । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वास्थ्य बीमा स्वास्थ्य क्षेत्रका लागि क्रान्तिकारी कदम हुने बताउनु भएको छ ।
‘नेपाल चीन र भारतको बीचमा हुनु अभिसाप होइन, दुई देशको आर्थिक विकासबाट नेपालले लाभ लिन सक्छ’, अध्यक्ष प्रचण्डले कार्यक्रममा भन्नुभयो, ‘मैले बिमस्टेक सम्मेलनका बेला भरतपुरको क्यान्सर अस्पताल र समग्र नेपालको आर्थिक विकासबारे चीनियाँ नेताहरुसँग कुराकानी गरें, थुप्रै आयोजनाहरु अगाडि बढ्दैछन्, हामीले बुद्धि पुर्यायौं भने भारत र चीनको बीचमा हुनु हाम्रा लागि अभिसाफ होइन, बरदान हुन सक्छ ।’
राजनीतिक स्थिरताले मात्रै आर्थिक विकास सम्भव हुने प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो, “राजनीति मुल हो, समाजका सबै क्षेत्रमा सकारात्मक परिवर्तन आउन राजनीति सङ्लो हुनुपर्छ । हामीमा ईच्छाशक्ति भयो भने धेरै कुरा गर्न सकिन्छ, ७.५% आर्थिक वृद्धि १० महिनाको छोटो अवधिमै हामीले गरेर देखायौं, हामीमा ईमान्दारिता र ईच्छाशक्ति भयो भने १४/१५% आर्थिक वृद्धि हासिल गर्न सकिन्छ, त्यसकै आधारमा हामी समाजवादमा पुग्न सक्छौं ।’
’चितवन जिल्ला स्वास्थ्यको हब बन्न सक्छ, हाम्रो भौगोलिक अवस्थितिले पनि त्यो सम्भावना छ’, प्रचण्डले भन्नुभयो, ‘त्यसका लागि भरतपुर अस्पताल र क्यान्सर अस्पतालको स्तर वृद्धि गर्न आवश्यक छ, यसमा मेरो पुरै साथ र सहयोग रहन्छ ।’
कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री गगन थापा, भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल लगायतका वक्ताहरुले भरतपुर क्यान्सर अस्पताललाई दक्षिण एसियाकै अस्पतालको रुपमा विकास गर्नुपर्ने बताउनु भयो ।