काठमाडौँ, ३१ भदौ । प्रदेश नम्बर २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि सुरु छ । मौन अवधि सुरु भएपछि प्रदेश २ मा शुक्रबार राति १२ बजेबाट प्रचारप्रसारको सबै खालका कार्य बन्द भएको छ ।
आयोगका प्रवक्ता नवराज ढकालले ‘मौन अवधिमा मतदाताले शान्त मनले सोचेर कुन उम्मेदवारलाई मतदान गर्दा उचित हुन्छ भनेर सोच्ने समय हो, यो समयमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाइँदैन’ भने ।
निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा व्यवस्था भएअनुसार, मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने व्यवस्था छ । मौन अवधि सुरु हुनुअगाडि मतदान केन्द्रको तीन सय मिटरवरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्छ ।
आयोगका अनुसार, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, गम्छा, ट्याटुजस्ता साङ्केतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न वा गराउन हुँदैन ।