काठमाडौं, ३० भदौ । अब राष्ट्रपति पदमा उठ्ने उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता अघि एक लाख धरौटी राख्नु पर्नेछ।
विधेयकको दफा ६२ मा ‘राष्ट्रपति पदको उम्मेदवारले एक लाख र उपराष्ट्रपतिको उम्मेदवारले ७५ हजार रुपैयाँ निर्वाचन अधिकृतको कार्यालयमा धरौटी राख्नु पर्नेछ’ भन्ने उल्लेख छ। तर, महिला, दलित वा अल्पसख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारका लागि भने ५० प्रतिशत छुट गरिने प्रस्ताव गरिएको छ। वार्षिक पारिवारिक आय ५० हजार रुपैयाँभन्दा कम भएको भनेर सम्बन्धित स्थानीय तहले सिफारिस गरिएको व्यक्तिलाई मात्रै आर्थिक रुपले विपन्न मानिने विधेयकमा उल्लेख छ।
निर्वाचनअघि उम्मेदवारले घरौटी राख्दा निर्वाचन अधिकृतको कार्यालयमा नगद जम्मा गर्न सकिने छ। बैंकमा धरौटी राखे त्यसको रसिद निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले पेश गर्नुपर्ने छ।
राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि प्रस्तावक २५ र समर्थक २५ जना सांसद आवश्यक पर्ने कानुनी व्यवस्था गर्न प्रस्ताव गरिएको छ।
सदर मतको १० प्रतिशत नपाए धरौटी जफत हुनेछ ।