काठमाडौं, २७ भदौ । अर्धसैनिक बल सशस्त्र प्रहरीको सांगठनिक संरचना र पदावधि नेपाली सेनाको ‘मोडालिटीु मा लैजाने गृहकार्य सुरु भएको छ। गृह मन्त्रालयले सशस्त्र प्रहरी महानिरीक्षकको पदावधि चार वर्षबाट तीन वर्षमा झार्ने र एआईजीदेखि एसपीसम्मको पदावधिसमेत हेरफेर गरी सेनाको ढाँचामा लैजाने गृहकार्य थालेको स्रोतले बताएको छ।
गृह मन्त्रालयले प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका एआईजीदेखि तल्लो तहका अधिकृतको सेवा अवधि अहिलेकै कायम राख्ने तर सशस्त्र प्रहरी बलको चरित्र र कार्य जिम्मेवारीलाई ध्यानमा राख्दै एआईजीदेखि एसपीसम्मका अधिकृतको सेवा अवधि तोकी सैनिक मोडेलअनुसार बनाउने तयारी भइरहेको छ।
अन्नपूर्ण पोष्टमा खबर छ । सेना र प्रहरीले सातवटै प्रदेशमा प्रमुख खटाइसकेका छन् भने गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागले संघीय संरचनाबारे संगठनको राय गृह मन्त्रालयमा बुझाइसकेको स्रोतले बताएको छ।
तर, सशस्त्र प्रहरीलाई चाहिँ संघीय संरचनामा कुन मोडालिटीमा लैजाने भन्नेबारे निर्णयात्मक केही प्रगति भएको छैन। सशस्त्र प्रहरीले संघीयतामा सशस्त्रको संरचना र सेवा अवधिबारे मातहतलाई सैनिक मोडालिटी समेटिएको लिखित प्रस्ताव सर्कुलर गरेको स्रोतले बताएको छ।