Indrenionline.com

बैठक चलिरहेकै वेला जिशिअमाथि कालोमोसो दलियो

इन्द्रेणी संवाददाता

रोल्पा, १२ भदौ। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले रोल्पाका जिल्ला शिक्षा आधिकारीलाई कालोमोसो दलेर जुत्ताको माला लगाएका छन् ।

आज सोमबार बिहान करिव साढे ७ बजे स्रोत व्यक्तिको बैठक चलिरहेकै बेला जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलमाथि पार्टीनिकट विद्यार्थी संगठनका विद्यार्थीले कालोमोसो लगाई दिएका हुन् ।

जिशिअ पौडेलले विद्यालयको ब्लक निर्माणमा, शिक्षक भर्ना लगायतका काममा भ्रष्टाचार गरेको भन्दै नेकपाका जिल्ला सेक्रेटरी दलबहादुर खत्री जागृतीले बताएका छन् ।

जिशिअ पौडेलले विभिन्न विद्यालयको भवन निर्माण गर्दा ५ हजारदेखि २० हजारसम्म घुस लिएको, विद्यालयको आवश्यकता भन्दा पनि फरक विषयका शिक्षक घुस खाएर नियुक्ती गरेको, घुस दिने शिक्षकहरुलाई समयमै तलब निकासा गर्ने अन्यको खाता रोक्का गर्ने गरेको, घुस लिएर शिक्षा ऐन विपरित शिक्षकको सरुवा गरेकोलगायतका आरोप लगाइएको छ । प्रहरीले कालोमोसो दल्ने व्यक्तिको पहिचान भइरहेको र उनीहरुको खोजी भइरहेको बताएको छ ।