काठमाडौं, ९ भदौ। नेपाल र भारतबीच आठवटा सम्झौतामा हस्ताक्षर गरेका छन् । हिजो नयाँ दिल्लीमा दुई देशबीच आपसी सहयोग र विकास निर्माणका विषयसम्बन्धी आठवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
त्यस्तै मेची पुल निर्माण, लागूऔषधको गैरकानुनी ओसारपसार एवं मनोदीपक पदार्थको नियन्त्रण, गुणस्तर मूल्यांकन र लेखापरीक्षण संस्थासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । बिहीबार दुई देशबीच भएको समझदारीपत्रअनुसार भूकम्पबाट भत्केका ५० हजार घर पुनर्निर्माणमा भारत सरकारले सहयोग पु¥याउनेछ । त्यस्तै सांस्कृतिक सम्पदाको पुनर्निर्माणसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ ।
भूकम्पले भत्काएका स्वास्थ्य क्षेत्रका भौतिक संरचना पुनर्निर्माणसम्बन्धी समझदारीपत्र र शिक्षा क्षेत्रका संरचना पुनर्निर्माण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालका तर्फबाट अर्थ सचिव शान्तराज सुवेदी र भारतको बाह्य मामिला मन्त्रालयका सचिव एस जयशंकरले हस्ताक्षर गरेका हुन् ।