भदौ ७, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक–डेढ वर्षमा माओवादीले फेरी चमत्कार गर्ने बताउनु भएको छ ।
‘एकथरी प्रतिक्रियावादी शक्तिहरु अब माओवादी कमजोर भयो, परिवर्तन उल्टाउन सकिन्छ भन्ने सपना देख्न थालेका थिए’, प्रचण्डले भन्नुभयो, ‘माओवादी र प्रचण्ड त्यति सजिलो चीज होइन, हामी लिडरसीपको टिमले फेरी एउटा संकल्प गरेका छौं । हामीले लडेर, ज्यानको बाजी राखेर, हजारौंको बलिदानी गरेर ल्याएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लुटिएको हामी टुलुटुलु हेर्न सक्दैनौं । माओवादीहरु एकतावद्ध हुन थालेपछि फेरी प्रतिक्रियावादीहरुको सातो जान थालेको छ ।’
‘हामीले फेरी समानुपातिक निर्वाचन प्रणालीको मुद्धा उठाएका छौं, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूखको कुरा गरेका छौं । यसले माओवादी आन्दोलनलाई मात्रै होइन, सिंगो देशलाई एकतावद्ध गर्छ’, प्रचण्डले थप्नुभयो, ‘हाम्रो ध्येय साम्यवाद हो, अबको गन्तव्य समाजवाद हो, त्यो उद्धेश्य र आदर्शमा समर्पित भएर हामी माओवादी आन्दोलनलाई नयाँ उचाईमा लैजान चाहेका छौं, यसमा तपाई विद्यार्थीहरु एकतावद्ध भएर लाग्नुस्, सम्पूर्ण प्रतिक्रियावादी चिन्तन र तागतलाई परास्त गर्नुस् ।’
सम्बोधनमा अध्यक्ष प्रचण्डले स्वस्थ प्रतिस्पर्धाद्वारा नेतृत्व चुन्न पनि विद्यार्थीहरुलाई अपील गर्नुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिले पार्टीले सहमति गरेर विद्यार्थीको नेतृत्व छान्ने पक्षमा छैन । अहिले पार्टीभित्र विचारमा कुनै विवाद र बिमति छैन, स्वस्थ प्रतिस्पर्धाबाट तपाईहरु नेतृत्व छान्नुस्, प्रतिस्पर्धामा एमाले–कांग्रेसको जस्तो भद्धा, अराजक शैली नअपनाउनुस्, सबैको विश्वास जितेर संगठनलाई नयाँ उचाईमा उठाउने संकल्प गर्नुस् ।’
उद्घाटनमा अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्ष लेखनाथ न्यौपाने, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापा, वाइसिएलका अध्यक्ष दीपशिखा, नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महर, अनेरास्ववियूका अध्यक्ष नबिना लामा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । पाँच दिनसम्म चल्ने सम्मेलनमा देशभरीबाट २००० प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने अखिल (क्रान्तिकारी) का अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।